सोमरसको कुरा !
डा. गोविन्दशरण उपाध्याय ।
मैले ऋग्वेद, यजुर्वेद र अथर्ववेद पढ्दै गर्दा सोमलता भन्नु र विजया (भांग) भन्नु एकै हो जस्तो लाग्यो । यदि सोमलता भन्ने कुनै बनस्पति हुन्थ्यो भने विश्वभरिका वैदिकहरू मध्ये कसैले न कसैले चिनेको हुनु पर्ने हो । आजसम्म पनि ‘रे’ बाहेक तत्थ्य फेला परेको छैन । कमसेकम नेपाल र भारतका वैदिक विद्वानहरूले त ‘यो हो सोमलता’ भनेर देखाउन सक्नुपर्छ नि ?
सम्पूर्ण भारतवर्षमा ढुङ्गाको सिलौटो वा ओखलमा बदाम, केशरआदि बहुमुल्य जडीबुटीहरू मिसाएर भांगका विभिन्न पेयपदार्थहरू मिसाएर घोटेर/पिसेर बनाएर खाने/खुवाउने चलन छ । मैले मथुरामा पण्डासहित उग्रविद्वानहरूले भांग घोटेर पेय तथा डल्लो बनाएर खाएको देखेको छु । उनीहरू ‘घोट्टा’ भन्छन् ।
भांगको ‘घोट्टा’सँग सोमलताका अनेकौं लक्षण मिल्छन् । मैले अनुमान गरेको हो, अरूले अनुमान गरेझैं । रक्सी भन्नेहरूले पनि अनुमान नै गरेका हुन् र जसले अमृत भन्दैछन्, तिनले पनि अनुमान नै गरेका हुन् । मैले गाँजाको बोट नै सोमलता हो भन्नेर १०० प्रतिशत ठोकुवा गर्दिन तर ‘सोमरस’को गुणसँग भांगका धेरै गुणहरू मिल्छन्जस्तो लाग्यो ।
भांग वा गाँजालाई सोमलता हो भन्दैगर्दा केही परम्परावादीहरू खुवै असहमत हुन सक्छन् र असहमतिको आधार भांगको लागुपना हो । सोमरसका विषयमा वेदले प्रष्टरूपमा लागु (Intoxicant) ) औषधका गुणहरू उल्लेख गरेको छ । इन्द्रलाई सबैभन्दा बढी सोमरसका भोक्ताका रूपमा प्रस्तुत गरिएको छ भने अग्नी, बरुण, पुषा, उषा, अश्विनीकुमार, मरूतआदिले पनि सोमरस पान गरेर आनन्द लिने उल्लेख छ ।
भारतीयहरूले सोमबल्ली भन्दै मरुभूमिमा पाइने ‘टेटी’को फोटो राखेको पाइन्छ भने केहीले कुरिलोलाई पनि सोमलता मानेका छन् । यदि सोमरसको स्रोत लता हो भने पात र लहरा नभएको लता हुँदैन । मलाई लाग्छ, यदि वेद, उपनिषद, पुराण तथा आयुर्वेदमा यतिविध्न सोमरस र सोमलताको चर्चा गरिएको छ भने त्यसको भौतिक अस्तित्व हुनैपर्छ । बरू, आयुर्वेदका विद्वान्हरूले सोमलता खोज्नतिर बढी ध्यान दिनुपर्ला कि ?