भारत भ्रमण एजेण्डा विशेषका लागि थिएनः प्रधानमन्त्री


काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।

सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भारत भ्रमणकाबारेमा जानकारी दिएका हुन् । भ्रमण कुनै पूर्वनिर्धारित कार्यसूचीका आधारमा नभई फरक ढङ्गको भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले यसअघि पनि यस्ता किसिमका अनौपचारिक भ्रमण हुने गरेको बताए। उनले भने, ‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो, सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो, यो पटकको भ्रमण त्यो किसिमको होइन ।’

प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि बताए । उनले भारतीय प्रधानमन्त्री मोदीसँग नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले दुई देशका बीचमा बनेका द्धिवपक्षिय संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि गम्भीर रुपमा छलफल भएको बताए । जवाफमा मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिन मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले गत जेठ २७ र २८ गते भारतको भ्रमण गरेका थिए ।