राजनीति दलको झोला बोकेर आफूमा गुलाफको बास्ना छ भन्ने भ्रम भएकाले अब एकान्त बस्नु राम्रो हुन्छ
डा. युवराज संग्रौला ।
मन्दबुद्धि, बुज्दिली, दुष्टबुद्धि, अल्पज्ञान छचल्किएको समाज एउटा छोरमा उभिएर ‘समाजको सत्य हेर्न खोज्छ।’ यो बिडम्वना नै समाजमा तनाव ल्याउने कारण बन्छ । आफूतिरको किनारमा उभिएको एउटा मन्दबुद्धि, बुज्दिली, दुष्टबुद्धिलाई अर्कोकिनाराबाट देखिने सत्य कसरी थाह हुन्छ ?
१. दुईकिनाराका बीचमा गएर दुबैतिरका सामर्थ्य, कमजोरी, अवसर र चुनौती के छन् हेर्नुपर्छ । यसो गर्न मन्दबुद्धि, बुज्दिली, दुष्टबुद्धिले सक्दैन वा चाहँदैन । ऊ आफ्नो स्वार्थ र स्वार्थको मोहमा बेहोस भएको हुन्छ । त्यो कसैको पछि पछि त्यसलाई देवता वा विधाता मानेर दौडिरहेको हुन्छ । यही हो आजको नेपाली समाजको यथार्थ ।
२. बुज्दिलहरुको जमात ठूलो छ । त्यो बुज्दिल आफूलाई मसिहा ठान्छ । ऊ बुज्दिल छ, त्यसैले उ घनघोर स्वार्थी छ । ऊ घनघोर स्वार्थी छ, त्यसैले बुज्दिल छ। उसको यात्राको अन्त्य दुष्ट्याइँमा सकिन्छ ।
३. नेपालको राजनीतिमा मन्दबुद्धि, बुज्दिली र दुष्टबुद्धिको घनघोर फसल पाकेको छ । मन्द्बुद्धि आफूमा परिवर्तन चाहन्न, किनकी उसलाई आफ्नो हातमा लागेको चिनीको गुलियो चाटेरै मिठाइको तृष्णा मेटिन्छ । त्यसैले ऊ हात धुन चाहँदैन। राज्यका सबै अंङ्ग र प्रत्यङ्गमा यिनको हालिमुहाली छ ।
४. नेपालको राजनीतिमा दुष्टबुद्धिको घनत्व बढिरहेको छ। कोही फ्याउराको भूमिकामा, कोही छिचिमिराको गन्तव्यहीनतामा, कोही धमिराको भोकमा, कोही बिच्छीको ताकमा सडकमा प्रतिस्पर्धामा छन् । यो अचम्म होइन। अचम्म त के छ भने मन्दबुद्धिहरु यिनको प्रतिस्पर्धामा कुनै एकको विजयको परिकल्पनामा सडकमा आँखा लगाएर मस्त छन्, उनलाइ थाहै छैन उनको धरातल भासिँदैछ । यहाँ आइपुग्दा यी मन्दबुद्धि बुज्दिल भैसकेको थाहै छैन।
देशको अवस्था विचार, सोच र दर्शनको गरीबीले जन्मिएको हो भन्ने चैतन्यको अभाव बाक्लो छ। नेपालीहरुमा सत्यको खोजी र चुनाव गर्ने क्षमता कमजोर देखिएको छ। चैतन्य भनेको खोजेर सत्य पर्गेल्ने वा चुनाव गर्ने योग्यता हो। एकथरी बौद्धिक बाँसघारीका रुप्पी जस्तै कराइरन्छन् । एकथरी बौद्धिक देशभक्तिका कुरामात्र गर्छन् र अर्काथरीका लोकतन्त्रको मात्र । देशभक्ति भनेको जनताको समृद्धि हो भन्ने नबुझ्ने बुज्दिलहरु इतिहासमा फर्किएर राजाको खोजी गर्छन् र लोकतन्त्रका गफगर्ने मन्दबुद्धिहरु घनको स्वार्थमा चिनी पानीमा लोभिएको झिङ्गा झैं माफियाको नियन्त्रणमा कठांङ्ग्रीएको भोटतन्त्रको मोहमा डुबेका छन् । यथार्थ समाजलाई परिवर्तन चाहिएको हो । परिवर्तनले गति चाहन्छ। स्थायित्वको मोह र सत्ताको अंहकारका विरुद्ध जनताको समृद्धिको संघर्ष आज नेपालीका अन्तस्करणमा मडार्ने र सत्यापनको स्थापन गर्ने बुद्धिमानको उदय समाजको यात्राको गन्तव्य हो। देशभक्तिको रटानले मात्र मोदी अहंकार जन्मिन्छ र लोकतन्त्रको गफले मात्र गान्धीहरु(मात्मागान्धी होइन)को विसर्जन जन्मिन्छ भन्ने बुझ्नु राम्रो हुन्छ । प्रगतिशील समाजले विद्या, विज्ञान र ज्ञानको बाटो समात्नुपर्छ , तब समृद्धि फल्छ । त्यसैले नेपालीहरुले शिक्षामा क्रान्तिको अभियानद्वारा उत्पादनको सपना देख्नुपर्छ । मन्दबुद्धि, बुज्दिली र दुष्टबुद्धि कति मौलाएको छ भन्ने त अब तल कमेन्टमा देख्नु हुनेछ । तिनले लेख्नेछन् :
(१) के गर्नु राम्रो कुरा शासक सुन्दैन, (२) यो मान्छेको कुरा कसैले सुन्दैन आदि आदि । कमेन्ट लेख्नु अगाडि आफ्नो अहंम र अहंकारलाई त्याग्नुहोला । बेलुका सेकुवा र रक्सीले ढाडिएर बिहान मर्निङ्गवाकमा कुरा काट्ने, चाकरीमा गएर आफूलाई विद्वान ठान्ने, विचौलियाको भूमिकामा बसेर न्यायको गफ गर्ने, र राजनीति दलको झोला बोकेर आफूमा गुलाफको बास्ना छ भन्ने भ्रम भएकाले अब एकान्त बस्नु राम्रो हुन्छ।