अनि गृहमन्त्रीले भने-कसैले खडा गरिदिएको प्रश्न होइन, आफ्ना प्रश्न सोध्नुहोला


विराटनगर । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफूले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री लामिछानेले आफूले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मल्य मान्यता र मर्यादाहीन भएको आरोप लगाएपछि आफू त्यसबारे जवाफ दिन तयार रहेको बताए ।

उनले आफूले सञ्चारमाध्यममा आएका अन्य बिषयहरु सदनमा राखेको प्रष्ट पारे । लामिछानेले अनुसन्धानको विषय वाहिर हल्ला नहुने बताउदै विभिन्न घोटाला काण्डहरुको छानबिन कार्य भइरहेको र समय आएपछि त्यसबारे जानकारी हुने बताए ।

उनले देशका आन्तरिक सूचना चुहाउनेहरुमाथिको अनुसन्धान कहाँ पुग्यो भनेर सोधिएको प्रश्नमा उनले त्यो भन्ने कुरा नभएको बताए । उनले भने,‘कारबाही अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भइरहँदा भन्ने कुरा होइन । अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै भन्दै गइन्छ र ?’

उनले पत्रकारहरुलाई अरुका भन्दा आफ्ना प्रश्न सोध्न आग्रह गर्दै थप समय नखर्चिने बताए । उनले भने, ‘अरु प्रश्नहरु पनि छन् होलान् नि ? तपाईंहरुका आफ्ना प्रश्नहरु पनि भइदिए हुन्थ्यो, कसैले खडा गरिदिएको प्रश्न महिनौंसम्म सोधिरहनु भन्दा।’

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेर संसदमा अवरोध गरिरहेको बेला जेठ ६ गतेको प्रतिनिधिसभा बैठकमा जवाफ दिएका थिए ।

त्यसक्रममा गृहमन्त्रीले कांग्रेस नेताहरुलाई लक्षित गरी विदेशीलाई सूचना बेच्ने, रातो पासपोर्ट दुरुपयोग, टीकापुरको सार्वजनिक जग्गा हिनामिनालगायतका प्रकरणको विषय उठाएका थिए । कांग्रेसले यसबारेमा प्रधानमन्त्रीको जवाफ मागिरहेको छ ।