मधेसका मुख्यमन्त्री यादव पाँचौं पटक विश्वासको मत लिँदै


जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमै रहेको एकीकृत समाजवादीले पनि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु अघिल्लो दिन मंगलबार सरकार छोड्ने निर्णय लिएको छ । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसमेतले सरकार छोडेपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम रहेको छ ।

जसपाबाट मुख्यमन्त्री भएका यादवालाई कांग्रेसले विश्वासको मत दिने भएको छ । डेढ वर्षअघि मुख्यमन्त्री बनेका यादवले यसअघि चारपटक विश्वासको मत लिइसकेका छन्। आज उनले पाँचौँ पटक विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

तर, मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न सकेको छैन । एमाले, माओवादी केन्द्र, जनमतसहितको विपक्षी गठबन्धले जनमत पार्टीलाई मधेसको मुख्यमन्त्री दिने सहमति गरिसकेका छन् ।