उपाधिको नशा !
डा. गोविन्दशरण उपाध्याय ।
एउटा धार्मिक कार्यक्रममा प्रमुख बक्ताको रूपमा निमन्त्रण प्राप्त भएर बोल्नै पर्ने अवस्था आयो । त्यहाँ अनेकौ उपाधिधारीहरू गुरूहरू थिए । मैले सम्बोधन गर्ने क्रममा मैले जाने र बुझेसम्म सबैलाई सम्मान गरेर बोलेको थिएँ । कार्यक्रमको अन्त्यमा एकजना ठूला साधुले मुखै फोरेर भने ‘तपाईंहरूलाई साधुसन्तलाई कसरी सम्बोधन गर्नुपर्छ, तिनको कस्तो मानमनितो गर्नुपर्छ र सन्तहरूलाई कस्तो दर्जामा राख्नुपर्छ भन्ने थाहा छैन भने नर्कको लागि तयारी गर्दा हुन्छ । यहाँ उपस्थित साधुसन्तले त्यसै उपाधिप्राप्त गरेका होइन, समाजले, राष्ट्रले, विश्वले तिनलाई पत्याएर दिएको हो । ‘म छक्क परें, कतिधेरै उपाधिको मोह र अभिमानको साँघुरोपन ! साधु र अभिमान एकसाथ बस्दैनन् ।
आजभोली सन्त हुनुको अर्थ हो – नामका अगाडी अनेकौं उपाधि, छत्र–चमरसहितको सवारी, जयजयकार गर्ने जत्था, सोसलमिडियामा जयजय भन्ने साइवर–चेला, अनेकौं आश्रम, अनेकौं चेलाचेली, अनेकौं व्यापारिक प्रतिष्ठान, महङ्गा गाडी, पांचतारे होटलको जस्तो सुविधायुक्त जीवनशैली र वाचालपन । आजको युवाहरूका लागि थप योग्यता त्यस्तो साधुले अंग्रेजी राम्ररी बोल्ने र बुझ्ने हुनुपर्छ । सरल, वितराग, तपस्वी, निरभिमानी, त्यागी, सन्त तथा ज्ञानीलाई कसैले सोध्नेवाल छैन । जतिठूलो पेट, त्यति नै ठूलो महान साधु – सायद अहिलेको बस्तुगत अवस्था र व्यबस्था यही हो ।
जन्म र मृत्यु हाम्रो हातमा छैन । आजको मितिसम्म बृद्धावस्था पनि आफ्नो हातमा छैन तर केही रोगहरूमा भने विज्ञानले नियन्त्रण प्राप्त गरेको छ । जतिसुकै उपाधि, पैसा, मान र नाम कमाए पनि मान्छेले रोग र बृद्धावस्था भोग्नै पर्छ । यसको अर्थ धर्म, अर्थ, काम तथा मोक्षको साधना नगर भनेको पटक्कै होइन । गर्नुपर्छ, तर फुटानी गर्नु भन्दा विनम्र, करूणायुक्त तथा सदाचारी भएर आफ्नो र विश्वको सेवा गर्नेहरू मेरो लागि गुरू हुन् ।
गुरूको गुरुत्व उसको विनम्रता र सदाचार हो । सबैभन्दा प्राचीन र ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन, तथा सनात्कुमार, देवऋषि नारद, ब्रह्म–ऋषि वशिष्ठ, ब्रह्मऋषि विश्वामित्र, वेदव्यासजस्ता ऋषिहरूले आफ्नो नामका अगाडी पछाडी जगत्गुरू झुन्ड्याएका थिएन, उनीहरूले अनन्त श्री लेखेका थिएनन्, उनीहरू महामण्डलेस्वर, यतिपति भनेर पनि आफ्नो नामको गुणगान गरेका थिएनन् । धर्मनै उहाँहरूको पहिचान थियो र आज पनि कसैले उहाँहरूको नाम लिंदा उपाधिका आडम्वरहरू जोड्दैन् । विनम्रता, ज्ञान तथा तपस्यामा अभिमान हुँदैनन् ।
यहाँसम्म कि अर्वाचीन ऋषि मानिने अद्वैतवेदान्तका प्रतिष्ठापक आचार्य शंकर, आचार्य निम्बार्क, आचार्य रामानुज, आचार्य मध्वआदिले पनि आफ्ना कृतिहरूमा ‘अनन्तश्री विभूषित, महामण्डलेस्वर, यतिपति, जगद्गुरू’हरूजस्ता उपाधिहरू ग्रहण गरेको पढ्न पाइन्न । यद्यपि लोकले उहाँहरूलाई जगदगुरू भनेर सम्बोधन गर्यो तर उहाँहरूलाई कसैले दिएको र उहाँहरूले आफ्नो जीवनकालमा स्वीकार गरेर आफ्ना कृतिहरूमा उल्लेख गरेको उपाधि होइन । हो, शिष्यहरूका लागि गुरूहरूको स्थान भगवान् सरह नै भएको वैदिक संस्कृतिको आदेश छ तर गुरू र शिष्य दूवैलाई “भगवान् होइन भगवान् का दास“ भएको कुरा ज्ञात हुन्छ । यही विनम्रता, निराभिमानताको लक्षण हो । साधुत्व यही हो । पुराणहरूमा त्रिदेव र त्रिदेवीका लागि जगदगुरू सम्वोधन आउँछ तर यो कसैले कसैलाई दिएका उपाधि भने होइनन् । तर पनि ‘कृष्णंवन्दे जगदगुरुम’ भनेर विश्वास गर्नेले कृष्णलाई विश्वगुरू मान्दिन भन्नेसंग कुनै रोइलो गर्दैनन् ।
भारतवर्ष ऋषिमुनि, तपस्वी तथा साधकहरूको पुण्यभूमि हो । ऋषिमुनिहरूले मात्र होइन प्रसिद्ध लेखकहरूले समेत विनम्रता र त्यागवृत्तिका कारण आफ्नो परिचयसम्म नाखुलायेर ठूलाठूला कृतिहरू तयार गरे । उनीहरूले कतै पनि ‘इति महाकवि १००८ कालिदास कृते रघुवंश महाकाव्यम्’ वा महाव्याकरणकार पाणिनीले ‘इति अनन्तश्री विभूषित पाणिनी कृते अष्टाध्यायी’ लेखेन् भने २७६ वर्ष अगाडीका न्यायशास्त्रका महान् विद्वान् विश्वनाथ चक्रवर्तीले पनि आफ्नो नामका अगाडी जगदगुरू, ब्रह्माण्डगुरू वा श्रीपादआदि उपाधि लेखेन । यो सबै उहाँहरूको विनम्रता, सेवाभाव, सम्पूर्ण विश्वब्रह्माण्डको स्वामी, विश्वको स्वामी, पृथ्वीको स्वामी, नेपालको स्वामी वा गुरू, अनन्तश्री अथवा विश्वभरिका उपाधिहरू जोडेर अन्तिममा आफ्नो नाम लेखे पनि मेरो लागि अर्थविहिन उपक्रम हो ।
किनभने संसारमा आएका कुनै पनि जीव जन्म, मृत्यु, वृद्धावस्था र रोगहरूलाई जितेर अमृत, अभय, अमर तथा अजन्मा भएको देखेको छैन । व्यक्तिगत रूपमा आजको प्रजातान्त्रिक व्यवस्थामा जुनसुकै उपाधि लेखे पनि केही फरक पर्दैन । आजभोलि शास्त्रको पनि आत्ममुखी व्याख्या गरिन्छ । शास्त्रका आवरणमा अशास्त्रीय कर्म गर्ने, जीवनशैली अवलम्बन गर्ने र आफ्नो समुदाय वाहिरका साधक, सन्तहरूलाई अपमान गर्ने, आलोचना गर्ने र अस्वीकार गर्ने समुहहरूको शक्ति बढिरहेको छ । यस्ता शक्तिहरू शास्त्रीय शक्तिभन्दा बलिया छन् ।
मेरा लागि भने विनम्रता, सरलता, निराभिमानी, निरुपाधिक, सन्त स्वभाव भएका, दयालु, तथा त्यागवृत्ति भएका चाहे विरक्त होउन् वा गृहस्थ गुरू हुन् र उनीहरूको गुरुता नै मेरो लागि ज्ञान, भक्ति तथा सद्कर्मको स्रोत हुन् । एउटा सन्त, गृहस्थी, विरक्तका रूपमा नेपाल र नेपालवाहिरका सम्पूर्ण मान्यजानप्रति मेरो अभिन्न श्रद्धा छ तर मनुस्मृतिजस्ता, स्मृतिग्रन्थहरूले, उपनिषदहरूले वा वेदहरूले कहींकतै उल्लेख नगरे उपाधि, अर्थ, र अभिमान बोक्ने र खोज्नेहरूका लागि मेरो श्रद्धा छैन । कुनै पनि व्यक्तिले कुनै पनि व्यक्ति विरुद्ध, समुदाय विरुद्ध वा आचार्यहरू विरुद्ध मनसाययुक्त भएर प्रहार गर्नु हुँदैन तर अवैदिक आडम्वर बिरुद्धको सचेतनालाई कुनै व्यक्ति वा सो व्यक्तिका अनुयायीहरूले आफ्नो अपमान ठान्छन्, त्यो उनीहरूको साँगुरो मन तथा बुद्धि र फैलिँदो अभिमानको पराकाष्टा हो भनेर बुझ्नुपर्छ ।