काठमाडौँ । सरकारले कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु घर बाहिर लैजान निषेध गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले प्रचलित कानून बमोजिम इजाजत प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरु इजाजत बाहकले घर बाहिर लैजान नपाउने गरि निषेध गरिएको जानकारी दिइन् ।
यात्रा अनुमति प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरि निषेध गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।
बैठकले नेपाल र चीन सरकारबीच हुने भूकम्पीय अनुसन्धान सम्बन्धी समझदारीपत्र स्वीकृत गर्दै उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न उद्योग मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ भने विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराललाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको नाममा बिभिन्न ठाँउमा रहेको जग्गा मध्ये पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र रहेको जग्गाको अध्ययन अनुसन्धान तथा छानविन एवं अचल सम्पतीको खोज र लगत संकलन गरि प्रतिवेदन पेश गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
उनले अहिलेको मुलुकको आर्थिक अवस्थाका कारण बजेटमार्फत कर्मचारीको तलव बृद्धि गर्न नसकिएको स्पष्ट पारिन् । प्रवक्ता शर्मा प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिदा आवश्यक भन्दा बढी मत आएकाले अहिले सरकारलाई अप्ठेरो पर्ने अवस्था नरहेको जिकिर गरिन् ।


प्रतिक्रिया