सहकारीमा रवि र गिरिबन्धुमा ओली जोगाउने प्रपञ्च हुँदैछः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको नाम नराखी कामचलाउ खालको संसदीय छानबिन समिति गठन गर्न चाहेको बताएको छ ।

आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरुद्ध’ कांग्रेसले गरेको खुला सभालाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले ओलीको यस्तो चाहनाका कारण समिति गठनमा ढिलाइ भएको बताएका हुन् ।

उनले सहकारी ठगीमा संसदीय समिति गठन नहुनुका चार कारण रहेको बताए । उनले एमाले कार्यकर्ता जोगाउन, गिरिबन्धुमा रविको साथ लिन, प्रचण्ड सरकार जोगाउन र नयाँ दललाई बदनाम गराउन ओलीले समिति गठन गर्न नचाहेको बताए ।

उनले भने, ‘एमालेका कयौं साथीहरु हुनुहुन्छ एमालेमा, जो सहकारीमा संलग्न हुनुहुन्छ, रवि लामिछाने त देखिएका पात्र हुन् । नदेखिएका धेरै पात्र सहकारी सञ्चालन गरेर सहभागी हुनुहुन्छ । ती सबलाई जोगाउन चाहनुहुन्छ, कमरेड केपी ओली । त्यस्तै, सहकारी प्रकरणमा रविलाई साथ दिने र गिरिबन्धु प्रकरणमा रविको साथ लिनेमा ओली हुनुहुन्छ । अनि नयाँ दललाई अर्को चुनावसम्म कमजोर बनाउन ओलीजी खोज्दै हुनुहुन्छ ।’

उनले दुईवटा नागरिकता र राहदानी भएका व्यक्तिले चलाएको गृह मन्त्रालयले नागरिकताका सम्बन्धमा उठेका प्रश्नमा सहयोग गर्छु भन्दा पनि कार्यालयबाटै गिरफ्तार गरिएको बताए ।

उनले प्रश्न गरे, ‘दुईवटा नागरिकता भएका गृहमन्त्री र संसद महासचिव पद्मप्रसाद पाण्डेय हुनुहुन्छ । तर सहयोग गर्छु भन्ने कैलाश सिरोहियालाई किन गिरफ्तार गरियो ?’ कांग्रेसले सरकारबाट राजनीतिक प्रतिशोध साँध्ने, कांग्रेसले श्रमजीवी र मिडिया हाउसको पक्षमा तथा भ्रष्टाचारको विरुद्धमा सडकमा उत्रिएको शर्माको भनाइ थियो ।