बुद्धले सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति



राजु शाक्य ।

इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको जन्म भएको हो । बुद्धलाई विश्वभरका मानिसहरु शान्ति र अहिंसाका नायकका रुपमा स्मरण गर्दछन् । वैरले वैरभाव शान्त हुँदैन अवैरभावले मात्रै वैरभाव शान्त हुन्छ भनेर त्यो बेलाको समाजलाई बुद्धले जुन शाश्वत शान्ति सन्देश दिनुभयो त्यसलाई अर्ती र उपदेशमा मात्रै सीमित नराखी उहाँले जीवनपर्यन्त व्यवहारमा लागू गरेर देखाइदिनुभयो ।

उहाँले २९ वर्षको युवावस्थामा दरबारको सुखसयललाई तिलाञ्जलि दिनुुभयो । श्रीमती र भर्खर जन्मेको छोरो त्यागिदिनुभयो । वर्षौंसम्मको कठोर साधनापछि अन्ततः उहाँमा ज्ञानचक्षु उदय भयो । त्यो आजकै दिन थियो । सबै नै नासिएर जाने यो संसार अनित्य रहेछ, नश्वर रहेछ, क्षणभङ्गुर रहेछ, आफ्नो वंशमा नभएको यो संसार दुःखदायी रहेछ र त्यसकारण आत्मा नामको स्थिर तथा शाश्वत कुनै चीज पनि हुँदो रहेनछ । उहाँलाई यही अनित्य, दुःख र अनात्म ज्ञानको बोध भयो । संक्षिप्तमा भन्नुपर्दा यही नै बुद्धले साक्षात्कार गरेको सत्य हो ।

तत्कालीन रुढिग्रस्त समाजलाई उहाँले यही ज्ञान बाँड्दै हिँड्नु भयो । सामाजिक विसङ्गतिहरु विरुद्ध बिगुल फुक्दै बहुजन हित र बहुजन सुखका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो । कसैको शरणमा नगएर आफ्नो दीप आफैँ बन्नू भन्नुहुने बुद्धले असङ्ख्य मानिसलाई जीवन मुक्तिको मार्ग देखाउँदै हिँड्नुभयो । अन्ततः आजैका दिन अनित्य स्वभावको आफ्नो नश्वर देहलाई त्यागेर उहाँ परिनिर्वाण हुनुभयो । गौतम बुद्धको जन्म, बोधिज्ञान लाभ र परिनिर्वाणका त्रि–संयोग घटित वैशाख पूर्णिमाको दिनलाई यसकारण समस्त बौद्धजन पवित्रतम् मान्दछन् ।

लुम्बिनीले विश्व शान्तिको मुहानको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । सम्राट अशोकले आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा यस क्षेत्रको भ्रमण गर्नुभयो र त्यसको संस्मरणका लागि बुद्ध जन्मेको यस गाउँलाई करमुक्त गरिदिएँ भनेर शीलास्तम्भ गाड्नुभयो । यही शीलास्तम्भका कारण रुम्मिनदेइ वा लुम्बिनीको पहिचान सम्भव भयो । विश्वभरका बौद्ध अनुयायीहरुका लागि सदियौँसम्म पृथ्वीको गर्भमा दबिएर बसेको यस पवित्र भूमिमा श्रद्धा र आस्था पोख्ने अवसर मिल्यो । कपिलवस्तु जिल्लाको निग्लीहवा र गोटिहवामा पनि अशोक स्तम्भहरु ठड्याइएका छन् । यी ठाउँहरु क्रमशः कोणागमन र क्रकुछन्द बुद्धका जन्मस्थलहरु भएको विश्वास गरिन्छ । बौद्धजन समयक्रममा यस धर्तीमा बुद्धहरु उत्पन्न भइरहन्छन् भन्ने मान्यता राख्दछन् । पछिल्ला सात बुद्ध (सप्त तथागत) मध्ये तीन बुद्धको जन्म नेपालकै सरहदभित्र भएका प्रमाण यी स्तम्भहरुले दिइरहेका छन् । त्यसकारण शाक्यमुनि बुद्धले २६०० वर्षअघि जुन धर्मको चक्र घुमाउनुभयो त्यो नौलोे प्रतिपादन नभएर समूल विलुप्त भइसकेकै सनातन धर्मकै प्रवर्तन थियो । धर्मचक्र प्रवर्तन भनेर भनिएको कारण यही हो । एसियाकै ज्योति भनेर उपमा दिइए पनि उहाँ विश्वकै ज्योतिको रुपमा स्थापित हुनुहुन्छ । उहाँ कोही कसैद्वारा खटाइएका दूत वा अग्रदूत हैनन्, सृष्टिकर्ता वा ईश्वर पनि हैनन् । अनिश्वरवादी र अनात्मवादी बुद्धद्वारा देशित जुन धर्मस्कन्ध छन्, ती अन्य कुनै पनि धर्मका हाँगा वा शाखा हैनन् ।

बुद्धले ४५ वर्षसम्म गाउँगाउँ जनपद जनपद घुम्दै दुई कुरा सिकाउँदै हिँड्नुभयो– दुःख र दुःखबाट मुक्ति । राजदरबारको सुखसयलमा हुर्के बढेका सिद्धार्थ राजकुमारलाई दुःख कष्ट भोग्न परोइन । घुम्न निस्किँदा उहाँले चाउरिएको कुप्रो वृद्ध, रोगी र मरेको मान्छे देख्नुभयो, सम्पूर्ण प्राणीलाई जीर्णता, शारिरीक ब्याधी र मृत्युले छोड्दो रहेनछ भन्ने संवेग उहाँमा ती क्षणहरुमा उत्पन्न भयो । त्यसको ठीक उल्टो संवेग उत्पन्न भयो जब उहाँले एक उन्मुक्त यायावरलाई देख्नुभयोे । यिनै संवेगले उहाँलाई राजगद्दी त्यागेर ज्ञानको खोजीमा एक्लै हिँड्न प्रेरित गर्यो।

गुरुहरुको दैलो चहार्दै त्यसबेलाका परम्परा र वादहरु सिक्दै पछ्याउँदै जानुभयो, उहाँलाई त्यसबाट सन्तुष्टि मिलेन, ती पूर्ण महसुस भएनन् । एक्लै अघि बढ्ने प्रयासमा उहाँ आहार त्यागेर कठोर तपस्यामा लीन हुनुभयो । शरीर दुर्बल र क्षीण भयो तर, ज्ञानोदय भएन । फेरि भोजन ग्रहण गर्न थाल्नुभयो । उहाँको बदलिएको व्यवहार देखेर उहाँलाई विश्वास गरेर पछ्याइरहेका अनुयायीहरु ‘सिद्धार्थ पथभ्रष्ट भए’ भनेर एकातिर लागे तर, उहाँ आफ्नो मार्गबाट विचलित हुनुभएन । एक रात उहाँले पृथ्वीलाई साक्षी राखेर बोधिवृक्षमुनि पलेटी कसेर अधिष्ठान लिनुभयो र संसारको स्वभाव धर्मलाई निरन्तर नियाल्दै बस्नुभयो । अन्ततः उहाँलाई बोधिज्ञान लाभ भयो, त्यो आजैको दिन थियो । बोधिज्ञान लाभ भएपछिको उहाँको पहिलो उद्गार यस्तो थियो– ‘यस भव संसारमा बारम्बार जन्म लिएँ । पञ्चस्कन्धरुपी यो घर (शरीर) बनाउने तृष्णा भेट्टाउन नसकेर यो संसारको चक्कर काटिरहेँ । अब मैले त्यसलाई भेट्टाइसकेँ । त्यस्तो घर बनाउने सबै ज्यावल भाँचिदिई सकें, छानो भत्काइदिएँ । हे गृहकारक ! अब फेरि घर बनाउन सक्ने छैनौँ । तृष्णा समूल नष्ट भइसक्यो । म मुक्त भइसकेँ ।’

उहाँले त्यसपछिका सात हप्ता यिनै ज्ञानको चिन्तन मननमा प्रीति अनुभव गर्दै व्यतीत गर्नुभयो । यो गम्भीर धर्म जनसाधारणलाई बुझ्न अत्यन्त कठिन हुने कुरा थाहा पाउनु भयो र कसैलाई नबताउनु नै श्रेयष्कर हुने निष्कर्षमा पुग्नुभयो । तर, कोही देवताले आएर उहाँसँग अनुनय गरे कि यस संसारमा त्यस धर्मलाई सूक्ष्मातिसूक्ष्म ढङ्गले अवबोध गर्न सक्ने तीक्ष्ण बुद्धि भएका मानवहरु पनि विद्यमान छन्, उनीहरुकै खातिर भए पनि यो धर्मलाई प्रकाश पारिदिनुपर्छ । त्यस आग्रहप्रति उहाँ सहमत हुनुभयो र सर्वप्रथम आफ्ना तिनै पुराना पाँच अनुयायीहरुलाई बताउने निधो गरेर सारनाथ प्रस्थान गर्नुभयो । त्यहाँ उहाँले धर्मचक्र प्रवर्तन सूत्र र त्रिलक्षण सुत्र देशना गर्नुभयो । ती अनुयायीहरुले त्यस गम्भीर धर्मोपदेशलाई एक एक गर्दै क्रमशः बुझ्न थाल्नुभयो र उहाँहरुमा ज्ञानचक्षु उदय भयो ।

यी सूत्रहरुको देशनाअघि उहाँले आफ्ना अनुयायीहरुलाई दुई अतिवादलाई त्याग्न उपदेश दिनुभयो । पञ्चकाममा लिप्त भएर जीवन व्यतीत नगर्न र दुःखबाट मुक्ति पाइन्छ भनेर शरीरलाई कष्ट हुने नानाथरीका व्रत उपासनाहरुमा नलाग्न दिनुभएको उपदेश नै मानव जातिलाई उहाँले दिनुभएको पहिलो सन्देश थियो । दुई अतिवादलाई त्याग्नुपर्ने यो नै उहाँको मध्यम मार्ग थियो । नखाएरै तपस्यामा लीन हुँदा त ज्ञान पाउन सक्नुभएन भने हृष्टपुष्ट शरीर बनाएर कहाँ ज्ञान पाउन सकिन्छ र ? भनेर तिनै पाँच अनुयायीले अविश्वास गरी पटक पटक शङ्का उठाएपछि बुद्धले यो उपदेश दिनुभएको थियो ।

तत्पश्चात् संसारका प्राणीहरुमाथि अनुकम्पा राखी बहुजन हित र सुखका लागि यीे उपदेश बाँड्दै हिँड्न बुद्धले आफ्ना ती पाँच शिष्यलाई आज्ञा गर्नुभयो । त्यही आज्ञा शिरोपर गर्दै पञ्चवर्गीय भिक्षुगण गाउँगाउँ चारिका गर्न थाल्नुभयो । त्यसमध्येका एक भिक्षु अस्सजित बिहान भिक्षाटनका लागि बाटामा जाँदै हुनुहुन्थ्यो । उहाँको संयमपूर्ण हिँडाइ र चञ्चलतारहित आँखा देखेर एक जिज्ञासु बटुवाले आफूलाई थाम्न सकेनन् र ती भिक्षुको सामुन्ने पुगेर प्रश्न राख्नुभयो – तपाईंका गुरु को हुनुहुन्छ ?

प्रत्युत्तरमा ती भिक्षुले भन्नुभयोे, “हेतुबाट उत्पन्न हुने जति पनि धर्म (विषय) हरु छन् ती सबैका कारण र त्यसको निरोध पनि उहाँ बताउनुहुन्छ । यस्ता हेतुवादी महाश्रमण मेरा गुरु हुनुहुन्छ ।” वर्षौंदेखि सद्धर्मको खोजीमा भौतारिरहेका त्यस व्यक्तिमा यस जवाफबाट थप उत्सुकता जाग्यो र कुनै विलम्ब नगरी आफ्ना मिल्ने साथीलाई लिएर बुद्धका सामु पुग्नुभयो । उहाँहरु बुद्धशासनमा दीक्षित हुनुभयो । पछि यी दुवै ब्राह्मण सारिपुत्र र मौगल्यायनको नामले प्रख्यात हुनुभयो ।

भगवान् बुद्धले आफ्ना सम्पूर्ण उपदेशलाई दुई कुरामा केन्द्रित गर्नुभएको छ– दुःख र दुःखबाट मुक्ति । सारा सत्व प्राणीहरु सांसारिक दुःखको भुमरीमा फसेर बसेका छन्, भवको चक्कर काटिरहेका छन् । क्लेश र उपक्लेशको आवरणबाट ढाकिएर उनीहरु दिग्भ्रमित भइबसेका छन्, सत्य देख्न सकेका छैनन् । क्षणिक सुखमा भुलेर दुःखदायी अनित्य संसारको स्वभाव जान्न र बुझ्न नसकेर पद, पैसा, प्रतिष्ठा र आरामदायी जिन्दगीको मृगतृष्णामै रुमलिरहेका छन् । किनारा भेट्टाउन नसकी समुद्रमा गोता लगाइरहेका छन् । अज्ञानता वा अविद्याका कारण बुँख्याचालाई साँच्चैको मानव ठानेर बसेका छन् । उनीहरु जानी नजानी काय, वाक् र चित्तले अपराध कर्महरु (त्रिविध संस्कार) गरिरहेका छन् जुन कर्मसंस्कारहरु भावी जन्म वा भवका लागि हेतु हुन् । नास्पतिको बीउ रोपेर नास्पति नै फल्ने हो, स्याउ फल्ने होइन । यही हेतुलाई जरैबाट निमोठ्ने कार्यकारणमा आधारित १२ अङ्गयुक्त ‘प्रतीत्य समुत्पादको सिद्धान्त’लाई भगवान् बुद्धले अघि सार्नुभएको हो ।

जन्म मरणको चक्र वा भवमा घुमिरहनु पर्नाका कारण अविद्या हो । अविद्याले मूढ भएको व्यक्ति सही/गलत वा कुशल/अकुशल कर्म छुट्टयाउन असमर्थ हुन्छ । चतुरार्य सत्यको ज्ञान नहुनु, संसारको यथार्थ स्वभावलाई नबुझेर तृष्णामा लिप्त भई बस्नु अविद्या हो । अविद्याका कारण संस्कार उत्पन्न हुन्छ, मानिस आफ्नै कर्मका कारण कुशल वा अकुशल संस्कार संग्रह गर्न पुग्छन् । संस्कारबाट विज्ञान उत्पन्न हुन्छ । प्रिय÷अप्रिय भेद गरी खासखास चित्तवृत्तिको विकास गर्छ, चित्तलाई रञ्जित पार्छ । विज्ञानबाट नामरुप, नामरुपबाट षडायतन, षडायतनबाट स्पर्श, स्पर्शबाट वेदना, वेदनाबाट तृष्णा, तृष्णाबाट उपादान, उपादानबाट भव, भवबाट जाति र जातिका कारण जरामरण, शोक, परिदेव, दुःख, दौर्मनस्य, उपायासादि उत्पन्न हुन्छन् ।

यस पञ्चस्कन्धरुपी शरीरलाई हरेक मानवले साँच्चैको ‘म’ र ‘मेरो’ भनेर बलियोसँग पक्डेर बसेको छ । यो मिथ्यादृष्टि हो । म भन्ने कुनै प्राणी छैन, आत्मा छैन, सृष्टिकर्ता वा ईश्वर छैन । जे छ क्षणक्षणमा परिवर्तन भइरहने अनित्य स्वभाव धर्म मात्र छ । आफ्नो नियन्त्रणमा नरहेको व्याधादि पीडालाई रोक्न नसक्ने यो परिवर्तनशील शरीरले कर्म, चित्त, क्रृतु र आहारको आश्रय पाइरहेको हुन्छ । मानिसलाई जीवित बनाइराख्ने हेतु यिनै हुन् । कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व छैन, सबै नै परतन्त्र स्वभावका हुन् । ‘अस्मिन् सति इदं भवति’ अर्थात् यो भएमा त्यो हुन्छ । हेतुप्रत्ययका कारण निरन्तर बदलिरहने जुन स्वभाव धर्म छ त्यो अनित्यता हो, त्यो नै शून्यता हो । रित्तो, खाली जनाउने त्यो शून्यता हैन । यसरी बौद्धहरु प्रतीत्य समुत्पादको अर्को पाटा शून्यता हो भनेर बुझ्ने गर्छन् ।

जबसम्म पञ्चस्कन्धरुपी शरीर रहन्छ, दुःख हट्दैन । बुद्धले दुःख निरोधको मार्ग आर्य अष्टांगिक मार्ग हो भनेर बताउनुभएको छ । ती हुन्– सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वाचा, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि । यसलाई अर्को शब्दमा मध्यम मार्ग पनि भनिन्छ । आज बुद्धद्वारा प्रतिपादित यिनै मध्यम मार्गको चिन्तन मनन् गरी संसारको दलदलबाट मुक्त हुन प्रण गर्ने दिन हो ।

(लेखक राससका नायब महाप्रबन्धक हुनुहुन्छ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब

पेट्रोलमा तीन तथा डजेल र मट्टितेलमा एक रुपैयाँ मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि

गण्डकी प्रदेश सरकारद्वारा ३२ अर्ब ९७ करोडको बजेट प्रस्तुत

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम