उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती


काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने मान्छे को हो, संसदमा देखाइदिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेस सांसद बद्री पाण्डेले राष्ट्रिय सूचना बेच्ने मान्छे संसदमा देखाइदिन चुनौती दिएका हुन् ।

उनले भने, ‘को हो त्यो एजेन्ट ? देखाउनुस् । उसलाई गलहत्याउने हो, गलहत्याउन तपाईंलाई सघाउन हामी तयार छौँ । होइन भने तपाईंलाई गलहत्याउन नपरोस् ।’ पाण्डेले गृहमन्त्रीको अभिव्यक्ति पुष्टि नभए संसदको रेकर्डबाट हटाउन माग गरे । उनले आफ्ना पार्टीका उपसभापति र महामन्त्रीमाथि छानबिन गर्न आग्रह गरे ।

उनले भने, ‘हाम्रो पार्टीका उपसभापति र महामन्त्रीमाथि जसरी उहाँले लाल्छना लगाउनुभएको छ, म सरकार र गृहमन्त्रीलाई चुनौती दिन चाहन्छु। के कस्तो खालको टीओआर बनाउनु पर्ने हो बनाउनुस् । हाम्रा उपसभापति र महामन्त्रीको नामै किटेर टीओआरमा लेख्नुपर्ने हो कि व्यक्तिको लेख्नु पर्ने हो कि कांग्रेसको लेख्नु पर्ने हो, लेख्नुस्। छानबिनको समय पनि तोक्नुस् ।’ पाण्डे छानबिनमा उपसभापति गुरुङ र महामन्त्री थापा दोषी देखिए सरकारले कांग्रेसका जुनसुकै नेतामाथि पनि कारबाही गर्न सक्नेसमेत बताए ।

उनले एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरार सूचीमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना भन्दै प्रश्न गरे । उनले गृहमन्त्रीलाई पनि पक्राउ गर्नुपर्ने बताए ।

उनले भने, ‘एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचीमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो बिडम्बना हो, र यो कस्तो न्याय हो ? संसदीय छानबिन समिति बनाऔं । गृहमन्त्रीको दावी अनुसार उहाँ संलग्न भएको होइन भने उहाँले उन्मुक्ति पाउनुहोस्, सफाई पाउनुहोस् । दावी अनुसार उहाँ संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पूर्जी जारी होस् ।’

पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताए ।

उनले भने, ‘अहिलेका नयाँ राजाहरुले आफ्ना विरुद्ध प्रश्न सुन्न नचाहेको, नसकेको र पूर्वाग्रहको आधारमा त्यो गरिएको हो भने त्यो कान्तिपुरको लडाइँ मात्र हुन्न, त्यो सञ्चार जगतको लडाइँ हुन्न, त्यो लडाइँ नेपाली कांग्रेसको पनि हुन्छ भन्नेमा हामी दृढ छौं ।’

पाण्डेले गृहमन्त्री रवि लामिछानेको पनि दुईवटा नागरिकता लिएको विषय बाहिर आएको स्मरण गर्दै सिरोहियाको विषय अनुसन्धानबाट छिनोफानो हुने उल्लेख गर्दै भने, ‘तर पूर्वाग्रह राखेर प्रश्न उठाएकै भरमा प्रश्नको घाँठी निमोठ्न खोजिएको हो भने त्यो सह्य हुँदैन ।’

सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको र जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पूर्जी जारी गर्न आदेश दिएको थियो ।