काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेर आफूमाथि लगातार प्रहार गरिरहेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गरेको बताए ।
उनले भने, ‘संसदीय छानबिन समितिबाट म कहिल्यै डराएको थिइँन । मूल कुरा कस्तो थिति नजिर बसाउने भन्ने थियो, हो रहेछ । लागेको थियो संसदीय व्यवस्थाको लागि दशकौं वर्ष लडेको नेपाली कांग्रेस कागजमा मात्र होइन आचरणमा पनि लोकतान्त्रिक छ, उसले कुरा सुन्न सक्छ । तर सत्ताबाट बाहिरिएको पीडा लुकाउन नजानेको सिकारु जस्तो व्यवहार गत दुुई महिना यो संसदले देखियो । नेपाली कांग्रेसबारेको मेरो भ्रम टुटेकोमा मलाई खेद छ । मलाई निरन्तर पेलियो राति राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने दिउँसो दिउँसो सदनमा उफ्रिने रुटिन देख्यौं ।’
उनले आफूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न अफर गरेको भन्दै प्रधानमन्त्रीको अफर गरेको हो कि होइन भनी सदनबाटै स्पष्ट पार्न आग्रह गरे । उनले भने,‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ ? मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ? यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’
उनले टेलिभिजनमा हुँदादेखि राजनीतिसम्म नै आफू तारो भएको गुनासो गर्दै लोकतान्त्रिक दलकै निसानामा आफू रहेको जिकिर गरे । उनले भने, ‘टेलिभिजनमा हुँदा सबैको तारो भए । राजनीतिमा हुँदा पनि सबैको तारो भइरहेको छु । सारा मिडियाको पनि तारो बनिरहेको छु । लोकतान्त्रिक शक्ति हुँदा हुँदै लोकतान्त्रिक दलकै निसानामा छु । मलाई साथीहरु भन्नुहुन्छ मिडिया मिलाउनुहोस्, म भन्छु मिलाउँदिन, जनताका लागि विद्यालय मनाउन आएको हुँ नमिलेका संविधानका धाराहरु मिलाउन आएको हुँ । अनि अनुसन्धान गर्दा गर्दै रोकिएका फाइलहरु खोल्न आएको हुँ म मिडिया मिलाउन आएको होइन, सक्दिन, मिलाउदिन ।’
उनले प्रतिपक्षीप्रति आक्रामकहुँदै विगतका विभिन्न काण्डमा धेरै राजनीतिज्ञहरु मुछिएको दृष्टान्त दिए । व्यक्ति केन्द्रित भएर संसदीय छानबिन समिति बनाउँदा गलत नजिर बस्ने दाबी उनले गरे ।
उनले आफूमाथि अन्याय भएपछि महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेको बताए । लामिछानेले सहकारीको नामै तोकेर आफ्नो नाममा सूचना मागेको त्यसको राजनीतिक अन्तर्यबारे थाहा नभएको टिप्पणी गरे ।
उनले भने, ‘सभामुख महोदय, आफूमाथि अन्याय हुँदा, मेरो बारेमा सूचना माग्न काँही न काँही जानैपर्ने थियो । व्यक्तिका रुपमा सूचना माग्नका लागि मैले महान्यायधिवक्ताको कार्यालयमा पत्र लेखेँ । मेरा बारेमा धेरै समाचारहरु आए । सहकारीको नामै तोकेर नाम आएपछि मेरोबारे सूचना मागेको हुँ । मैले त्यसभित्रको राजनीतिक अन्तर्य बुझ्न सकिनँ ।’
सहकारीको रकम अपचलनमा आफूविरुद्ध लगातार समाचार आइरहँदा कतै प्रहरीमा उजुरी वा मुद्दा परे नपरेको बुझ्न महान्यायाधिवक्ताबाहेकको निकाय आफूले नदेखेको उनले बताए ।
गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राईले गरेको फोहोर आफूले नसोहोर्ने समेत भनाइ उनले राखे । उनले भने, ‘विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्क प्रालिको कुनै पनि ऋण लिने प्रक्रियामा मेरो कुनै संलग्नता छैन । जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन ।’

प्रतिक्रिया