जेपी गुप्ता ।
ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको पेटीमा अगाडीबाट मच्चिँदै आउनेले आफूलाई धक्का दिई पेटीमा पछार्दा पनि उल्टै उसैलाई ‘सरी माफ गर्नु होला’ भन्नेहरूको व्यवस्था हो बुझ्यौं।’अहिले जुग फेरियो। झोले, ढोके, बैठके, हुक्के, चप्पले, गम्छे, धोति, सातु, गोबरे, खराने आदि रूपका बिभिन्न दलका सांसदहरू फेरिएका छन्। तिघ्रे, मुन्द्रे, ठयाम्के, लबटो, मुक्कापोसे आदिबाट शुसोभित छ हाम्रो राष्ट्रिय विधायिका अहिले ।
यसरी रूपान्तरणको लामो इतिहास छ। उ बेला संसदमै एमालेका सांसदले बोल्दै गरेका मन्त्रीलाई पिटे । एक जना सभामुख उसैको कार्यकक्षमा कुटे, अर्का सभामुखलाई ताकेर मुन्टे डल्ले माईक थुतेर हाने (कथित संसदीय मर्यादाको रक्षार्थ यसलाई अभिलेखमा राखिएन), फेरि उनैबाट सदनमै मतदानका बेला एक जना बृद्ध पूर्व प्रधानमन्त्री कुटिए, एक मधेसी उपसभामुख आसनमै पिटिए, यस्तै शिक्षा दीक्षाको आलोकमा माओवादीका एक भावी अर्थमन्त्रीले बहालवाला अर्थमन्त्रीलाई हिर्काए–यस्ता कयौं उदाहरणहरूको रोहमा बिहीबार दुर्भाग्यवश स्वयं ओली पर्नुभयो ।
घटनाक्रम र संसदीय बेथितिको इतिहास जति नै खराब भएपनि बिहीबार संसदमा भएको घटना दुर्भाग्यको उत्कर्ष थियो । खराब परिणाम त अवश्वयंभावी छ नै ! शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ ।

प्रतिक्रिया