काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने अडान दोहोर्याएका छन् । सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि गृहमन्त्री लामिछानेले आफूले सदनमा बोल्न पाउनुपर्ने बताएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले आफूमाथि लागेको आरोपमा बोल्न पाउनुपर्ने बताए । उनले फौजदारी आरोप लागेपछि जवाफ दिन पाउनुपर्ने बताए ।
उनले भने, ‘मैले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्छ । सार्वभौम संसद्मा बोल्ने अधिकार मेरो पनि हो । फौजदारी आरोप लगाएपछि जवाफ दिन त पाउनुपर्छ । बोल्न दिएपछि छानबिन समिति बनाउँदा हुन्छ । कांग्रेसको माग न्यायसंगत भएन ।’
आफूलाई रोष्ट्रममा जान नदिइएको उल्लेख गर्दै उनले एउटा मान्छेमाथि जवाफ मागेपछि संसदको लोकतान्त्रिक रक्षाको गर्नुपर्दैन भन्दै कांग्रेसलाई प्रश्न गरे ।
बजेट अधिवेशन सुरु भएको पहिलो दिन सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएका थिए । तर कांग्रेसले उनलाई रोष्ट्रममा जानबाट रोकेको थियो । गृहमन्त्रीले सदन बोल्न पाउनुपर्ने माग गर्दै सभामुखसमक्ष निवेदनसमेत दिएका थिए ।
तर कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीले सदनमा बोल्न नपाउने र उनले संसदीय समितिमा बयान दिनुपर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया