गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनमा प्रधानमन्त्री सकारात्मक


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सकारात्मक देखिएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटार कांग्रेस नेताहरुसँगको छलफलमा प्रधानमन्त्रीले संसदीय समिति गठनका लागि सकारात्मक रहेको बताएका हुन् ।

छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री त्यस विषयमा सकारात्मक भएको जानकारी दिए ।

छलफलमा कांग्रेसले संसदीय समिति गठनमा आफ्नो अडान यथावत रहेको जानकारी गराएको थियो । प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए । कांग्रेसले गृहमन्त्री लामिछाने उपर छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ ।

आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटारस्थित निवासमा बोलाएका थिए । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।