काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजपनि बस्दैछ । पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे शुरु हुनेछ ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरू भएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार बस्नेगरी हिजोको बैठक स्थगित गरिएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका र महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएको पनि उपमहासचिव खतिवडाले जानकारी दिए ।
यस्तै, बैठकमा स्थायी कमिटी सदस्यहरू साध्यबहादुर भण्डारी, श्रीप्रसाद साह, राजेन्द्र राई र माधव पौडेलले आफ्ना कुरा राखेका थिए भने बाँकी नेताहरूले आइतबारको बैठकमा बोल्नु हुनेछ ।
स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बोलाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन् । सो बैठकले केन्द्रीय कमिटीको बैठकमा छलफल गरिने कार्यसूची अनुमोदन गर्ने जनाइएको छ ।

प्रतिक्रिया