लोभी पापीले पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्ना मात्रै होः अध्यक्ष यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।

शनिबार मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताए ।

अध्यक्ष यादवले २/४ जना लोभी पापीले पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा सपना मात्रै रहेको बताए । निर्दलीय व्यवस्था बिरुद्ध लडेका कांग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षड्यन्त्र हुन्थ्यो, उनले भने ‘षडयन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षडयन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो ।’

पार्टीबाट केही लोभीहरु अलग्गिदैमा जसपा नेपाल कमजोर नहुने भन्दै उनले अब जसपा नेपाल थप गतिका साथ अघि बढ्ने स्पष्ट पारे । उनले भने, ‘यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थपूर्ति हुन्छ उतै लाग्छन् होला । जसरी शरीर स्वस्थ रह्नका लागि बिकार निकाल्नु पर्छ राम्रै बिकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अघि बढ्ने छ ।’

उनले मधेसको मुद्दा र संघीयता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए ।
एक अर्को प्रसंगमा मन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।