नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव
नारायण गाउँले ।
विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि आज चुनाव हुँदैछ । तर कतै पनि पर्चापम्प्लेट, तूल–ब्यानर, आमसभा, चक्काजाम या बन्द नभएकाले कतिलाई त आज चुनाव हो भन्ने हेक्का पनि छैन । हिजो र आजको दैनिकीमा कत्ति फरक छैन । पाकिस्तानी मूलका वर्तमान मेयर सादिक खानले नै तेस्रो कार्यकाल समेत जित्ने अनुमान गरिएको छ । उनी सांसद पदबाट राजीनामा दिएर २०१६ मा लेबर पार्टीका तर्फबाट मेयरमा लडेका थिए । उनी लण्डनको इतिहासमा पहिलो मुश्लिम मेयर हुन् । यतिबेला बेलायतका प्रधानमन्त्री हिन्दु र राजा क्रिश्चियन छन् । यहाँ स्थानीय या आमचुनाबमा भोट हाल्न बेलायती नागरिक नै हुनुपर्छ भन्ने छैन । युरोपियन युनियनका प्रायः सबै नागरिकले यहाँ बसोबास गरेको भए भोट हाल्न पाउँछन् । विद्यार्थी या कुनै भिसामा भएका भारत, पाकिस्तान, बङ्गलादेश, फिजी, जिम्बाबे लगायतका सबै कमनवेल्थ देशका नागरिकले समेत मत हाल्न पाउँछन् । कमनवेल्थमा झन्डै दुई अर्ब पचास करोड़ जनसङ्ख्या रहेछ । ती सबैसँग कुनै न कुनै रूपमा बेलायतमा मत हाल्ने अधिकार रहेको मानिन्छ । मत हाल्नुअघि निर्वाचन आयोगमा रजिस्ट्रेशन भने गर्नुपर्छ । प्रायः निर्वाचनको दुई–तीन हप्ता अघि रजिस्ट्रेशन बन्द हुन्छ । कमनवेल्थमा नपर्ने हुनाले नेपालीहरूले चाहिँ स्थायी बसोबास अनुमति भए पनि नागरिकता नलिउन्जेल मत दिन सक्दैनन् ।
राष्ट्रियता, जातीयता, धर्म जस्तो विषय राजनीतिमा नघुस्ने भएकाले भोट हाल्ने पनि नानाथरी हुन्छन् र उठ्ने पनि नानाथरी हुन्छन् । यहाँको समावेशिता र लचकता रोचक छ । बेलायतभित्र स्कटल्याण्ड र वेल्सका स्थानीय चुनावमा १६ वर्षमैं भोट दिने अधिकार हुन्छ भने इङ्गल्याण्ड र नर्दन आयरल्याण्डमा यस्तो अधिकारका लागि १८ वर्ष पुग्नुपर्छ । एउटै देशभित्र पनि स्थानीय नियम कानुन फरक छन् ।
अनलाइन भोटिङ्को सुविधा छैन । तर तपाईंले नभ्याउने भए अरू कसैलाई भोट हाल्न नोमिनेट गर्न सक्नुहुन्छ । घरमैं मतपत्र मगाएर हुलाकबाट पठाउन सक्नुहुन्छ या बुथमा गएर मत खसाल्न पनि सक्नुहुन्छ । बिहानैदेखि बेलुका १० बजेसम्म मत खसाल्न पाइने हुनाले काममा जाँदा जाँदै या काम सकेर भोट हाल्ने धेरै हुन्छन् । मेयर पदलाई लण्डनको ’टप जब’ भनिन्छ । यो जागिर हो । अतिरिक्त सुविधा या शक्ति नहुने र निकै खट्नपर्ने हुनाले शायद धेरैलाई राजनीतिमा रुचि हुँदैन । वरपर झिंगा झैँ झुम्मिने गण या कण पनि हुँदैनन् । साउथ एशियन सिनेमाको नेताजस्तो भव्य लाइफस्टाइल पनि हुँदैन । कुनै कार्यक्रममा पुग्दा ती आफै गाड़ी चलाएर एक्लै पुगेका देखिन्छन् । सार्वजनिक जीवन जिउन पर्ने हुनाले निजी जीवनमा सम्झौता गर्न धेरै तैयार हुँदैनन् । नत्र लेबर पार्टी भित्रै पनि अब मेरो पालो भन्ने हुन्थ्यो होला । आफ्नो कार्यकक्षमा तीन जना आफन्त या मित्र भेट्न आउँदा टेबलको बेल थिचेर कसैलाई ए भाइ, चार वटा चिया र नास्ता ल्याउनुस् त भन्न नपाइने भएपछि हाम्रो लागि मेयर नै भएर पो के र ?
कसैले न उठ् नभन्दै अब सांसदमा उठ्दिन भनेर घोषणा गर्ने त कति हुन्छन् कति ! अहिले नै पनि पूर्वप्रधानमन्त्री टेरेसा मेलगायत सय जना वर्तमान सांसदले त केही महिनामा हुने चुनावमा न उठ्ने घोषणा गरिसकेका छन् । हाम्रो जस्तो चार जनाले समाएर सिँढी ओराल्न पर्ने हुँदासमेत कुर्सीमा बस्ने बुद्धि र मति तिनमा छैन ।
टोकियो, न्युयोर्क र लस एंजेल्स पछि चौथो धनी शहर रहेछ लण्डन । यसलाई युरोपकै आर्थिक राजधानी शहर पनि भनिन्छ । यहाँको हीथ्रो विमानस्थल युरोपकै पहिलो र विश्वको चौथो व्यस्त हो । रेल नै यही देशमा बनेको हुनाले सबैभन्दा पुरानो मेट्रो रेल यहीँ छ भन्न परेन । कुनै बेला आधा विश्वको राजनीति यही शहरले चलाउँथ्यो । आज पनि अस्ट्रेलियादेखि क्यानडासम्मका राजाको कार्यालय यहीँ छ । हामीले स्वीकार गरेको प्रजातन्त्रको एउटा मोडल वेस्टमिंस्टर मोडल भनेर चिनिन्छ । बेलायती पार्लियामेन्ट लण्डनको वेस्टमिंस्टर भन्ने ठाउँमा भएकाले प्रणालीको नाम नै त्यसबाट रहेको हो । शिक्षादेखि स्वास्थ्य र विज्ञानप्रविधिसम्म लण्डनले विश्व र मानवजातिलाई धेरै कुरा दिएको छ ।
विश्वका हरेक देशको नागरिक यहाँ भेटिन्छ । यहीँ बसेर पढेका धेरै व्यक्तिहरू विश्वका धेरै देशमा शासक छन् भने पूर्वशासकहरू यहाँ चोकचोकमैं भेटिन्छन् । झन्डै डेढ़ लाख नेपाली यो शहरमा बस्छन् भन्ने अनुमान छ । जङ्गबहादुर लण्डन भ्रमण गर्ने पहिलो नेपाली शासक हुन् भने सन् १९६० मा ठूलो राजकीय सम्मानसहित यो शहरमा हाम्रा राजा महेन्द्र पनि आएका रहेछन् ।