चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुनथालेको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन् ।
उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उनले आक्रोश पोखे ।
उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।
समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए ।
वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको भन्दै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए ।
नेपालका कम्युनिष्ट दलमा अहिले खिया लागेको उनले बताए । उनले भने,“कम्युनिष्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” अहिलेको राजनीतिमा कम्युनिष्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए ।
पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले निर्वाचनबाट निर्वाचनसम्म मात्रै दलको यात्रा हुन नहुने बताए । दलले जनताको मन जित्न आवश्यक रहेको उनको भनाइ थियो । पार्टीलाई एकताबद्ध गर्दै अघि बढ्न आवश्यक रहेको भन्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै अघि बढ्न पार्टीको गठन गरिएको बताए ।

प्रतिक्रिया