काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।
आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले संसदीय समिति गठन गर्न संसदको ध्यानाकर्षण गराएका हुन् । सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि नैतिक र कानुनी प्रश्न उठिसकेकाले उनीमाथि छानबिन हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘प्रधानमन्त्रीले न्यायाधीश जस्तो हुकुम प्रमांगी दिने क्लन चिट दिने काम गर्नुभयो । प्रहरी प्रमुखले पनि क्लिन चिट दिनुभयो । गोर्खा मिडिया नेटवर्कको नाममा ८० करोड भन्दा बढी रकम जम्मा भएको छ । मिडिया सञ्चालनमा पनि छैन । त्यसको जवाफ कसले दिने ?’
उनले ठूला माछाको छानबिन गर्ने भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला माछालाई काखी च्यापेको आरोप लगाए । उनले सरकारले यस विषयलाई गम्भीररुपले लिनुपर्ने बताए।
गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप छ। सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया