काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताएका छन् । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमार्फत यस्तो लेखेका हुन् ।
उनले फुटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘ युवा सँगसँगै !३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फुटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङ !’
आइतबार बसेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको थियो । सुहाङ पूर्वसभामुख सुवास नेम्वाङका कान्छा छोरा हुन् । भदौ २५ गते सुवास नेम्वाङको निधन भएपछि त्यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया