काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगले पाँच महिनापछि बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो । आयोगका अध्यक्ष डिल्लीराज आचार्य नेतृत्वको आयोगले ४८५ पृष्ठ लामो प्रतिवेदन बुभाएको आयोगका आध्यक्ष आर्चायले जानकारी दिएका छन् ।
हङकङबाट तस्करी गरेर ल्याइएको ६० किलो र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याइएको सुनबारे आयोगले छानबिन गरेको थियो । आयोगले सुन तस्करीबारे ६० जनाभन्दा बढीसँग सोधपुछ गरेको थियो । अनुसन्धानको क्रममा मुद्दा चलाउनुपर्ने व्यक्तिहरूलाई मुद्दा नचलाएर त्रुटि गर्नेहरूलाई विभागीय कारबाहीको सिफारिस गरेको आचार्यले जानकारी दिए ।
त्यस्तै सीडीआर र डीएफएलमा कनेक्सन देखिएका व्यक्तिहरूको नाम अभिलेखीकरण गरिएको उनले बताए । प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुझाव र तस्करी नियन्त्रण गर्न चाल्नुपर्ने कदममा आफ्नो विशेष ध्यान गएको बताए ।
उनले कमजोरी गर्ने व्यक्तिहरूलाई कारबाही गर्ने कुरामा निर्धक्क हुन आग्रह गरे । गत असोज १४ गते सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्वसहसचिव किशोरजंग कार्की र पूर्वसहसचिव प्रेमराज जोशी थिए ।

प्रतिक्रिया