‘प्रतिनिधिसभाको रिसले राष्ट्रियसभाको खाँबो चिथोर्ने काम हुने गरेको छ, त्यो हुनु भएन’


काठमाडौं । राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीहरूलाई बर्खास्त गर्ने विधि बसाल्नुपर्ने बताएका छन् । बिहीबारको बैठकमा सांसद देवकोटाले संसद र संसदीय समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘संसद र समितिलाई अवज्ञा गर्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्ने विधि बसाल्नुपर्छ । तर, यसका लागि ‘फ्याक्ट एन्ड फिगर’ रिसर्च हुनु जरुरी छ ।’

उनले प्रतिनिधिसभामा भएको प्रतिपक्ष र सत्तापक्षको जुधाइको चेपुवामा राष्ट्रियसभा पर्न दिन नहुने बताए । उनले भने, ‘प्रतिनिधिसभाको रिसले राष्ट्रियसभाको खाँबो चिथोर्ने काम बेलाबेलामा हुने गरेको छ । त्यो हुनु भएन ।’ बजेट निर्माणमा संसद पूर्णस्वायत्त नभएको भन्दै यसका लागि आवश्यक कानुन र नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ ।