लोग्नेस्वास्नी : कज्याउने र वसमा राख्ने दुस्चक्र



डा. गोविन्दशरण उपाध्याय ।

(१) विवाह गरेर दुरान फर्काउन जाँदा कमलाकी आमाले भन्नुभयो ‘छोरी, दुलाहालाई आफ्नो वसमा राख्नु पर्छ । यसका लागि सामदाम, दण्ड तथा भेद सबै उपायहरू अवलम्बन गर्नु परे पछि हट्नु हुँदैन । लोग्नेलाई वसमा राख्ने स्वास्नी मान्छे सुखी हुन्छन् । लोग्ने वसमा राखियो भने आफुले चाहेको कुरा पुग्छ ।’

(२) दुरानबाट घर फर्किएको छोरा सन्तोषलाई आमाले भन्नु भयो ‘बाबु, स्वास्नी कज्याउन सक्ने लोग्नेको समाजमा इज्जत हुन्छ । स्वास्नीलाई सधैं आफुले भनेको मान्ने गराउनुपर्छ । नत्र टाउकोमा चढ्छन् । लोग्नेको कुरा नमान्ने, लोग्नेको कुरा नसुन्ने, जवाफ फर्काउने स्वास्नीसंग घरवार चल्न गाह्रो हुन्छ । स्वास्नीको मात्र कुरा सुन्नेलाई दुनियाले ‘जोइटिग्रे’ भन्छन् ।
……..
माथि उल्लेख गरिएका दूवै घटना काल्पनिक हुन् । कसैको वास्तविक जीवनसँग मिल्न गए आश्चर्य मान्नु पर्दैन । समाज र संस्कृति दूवै परिवर्तनशील हुन्छन् । आजका ‘लोग्नेस्वास्नी’अलि फरक शैलीमा वसमा राख्ने र कज्याउने अभ्यास गर्छन् । अचम्मको कुरा त के भने ‘वसमा राख्ने’ आकांक्षा ‘पढेलेखेका मोडर्न’मा बढ्दो छ भने कज्याउने शैली खान्दानी वा परम्परागत शैलीका लोग्नेस्वास्नीमा छ । अपवाद बाहेक जब लोग्ने र लोग्नेको परिवारले शिक्षित महिलालाई ‘कज्याउने’ व्यबहार थाल्छ, लोग्नेस्वास्नीका बीचमा ‘खटपट’ आरम्भ हुन्छ । परिणामः डिभोर्स वा आत्महत्यामा देखिने सम्भावना हुन्छ । यसैगरी, ‘वसमा राख्ने’ व्यबहारको पनि अन्तिम विन्दू पारिवारिक विखण्डनै हुन्छ । यसै सेरोफेरिमा सम्बन्धित लोग्नेस्वास्नीले ‘मम’भन्दै आफ्नो व्यबहार र सोचमा परिवर्तन गर्न आरम्भ गर्नुपर्छ । परिवार, बालबालिका र लोग्नेस्वास्नी दूवैको ‘भलो’ हुन्छ ।

‘स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने’ भन्नेजस्ता अतिवाद नेपाली समाजमा आज पनि शक्तिशाली छन् । खासगरी, न्यूक्लियर फेमिलीको अभिरुचि बढ्दै गर्दा ‘जोइटिग्रे’हरूको सङ्ख्या बढेको छ भन्ने अनुभव संयुक्त परिवारमा हुर्किएका अभिभावकहरूको छ । अर्कोतिर संयुक्त परिवारमा भन्दा “एकल परिवारमा छोरी बढी सुखी हुन्छे“ भन्ने मान्यता ससुरालीहरूतिर बलियो देखिन्छ भने नवविवाहित लोग्नेस्वास्नीले पनि सुख ‘एकल परिवारमा नै’ देख्न थालेका छन् । प्रश्न एकल परिवार वा संयुक्त परिवारको होइन, प्रश्न ‘लोग्नेलाई वसमा राख्नु र स्वास्नी कज्याउनु’ उचित हो ? के यस्तो अभ्यासले लोग्नेस्वास्नीका बीचमा प्राकृतिक प्रेम सम्बन्ध दिगो होला ? भन्ने हो ।

असलमा, नेपाली समाजमा ‘स्वास्नी कज्याउने र लोग्नेलाई आफ्नो मुट्ठीमा राख्ने’ भन्ने मान्यता आज पनि फरकरूपमा विद्यमान छ । जुन परिवारका लोग्ने वा स्वास्नीले यस्तो मान्यताको आधारमा आफूलाई प्रस्तुत गर्छन्, त्यो परिवारको शान्ति सधैंका लागि समाप्त हुन्छ । लोग्नेलाई वसमा राख्ने अभ्यास गर्ने स्वास्नी मान्छेले परिवार र लोग्ने गुमाईसकेका हुन्छन् । ‘लोग्नेलाई वसमा राख्ने ‘एजेण्डा’मा काम गर्ने स्वास्नी मान्छेले लोग्नेलाई माया गर्लान् तर लोग्नेका आमाबुवा, छरछिमेकी, सम्बन्धिहरूलाई पटक्कै मन पराउँदैन् । संयुक्त परिवारलाई जेलखानासरह मान्छन् ।

अर्कोतिर स्वास्नीलाई ‘कज्याउने’ मनस्थिति र व्यबहार भएको लोग्ने र लोग्नेका आमावुवा वा परिवारका लागि ‘स्वास्नी’काम गर्ने/गराउने सित्तैको सेविका वाहेक केही हुँदैन । लोग्ने र लोग्नेका मातापिता वा आफन्तको खुसीको लागि स्वास्नी मान्छेले आफ्नो स्वतन्त्रता, इच्छा तथा सीपहरू गुमाउनु पर्छ । महिलाका भावनाहरूको कुनै महत्व हुँदैन । लोग्नेका यौनचाहना पुरा गर्नु, इच्छाए/नइच्छाए पनि उसको लागि “बच्चा“ जन्माई दिनु, हुर्काइ दिनु र परिवारको अत्याचार सहेर पनि “घरपरिवार“को कठोर अनुवन्ध भित्र रहनु नै ‘संस्कारी स्वास्नी’ हुनु हो ।

वसमा राख्ने स्वास्नी होस् वा कज्याउने लोग्ने, दूवैले एकआपसमा प्रेमको नाटक मन्चन गरिरहेका हुन्छन् । कज्याउने र वसमा राख्ने व्यबहारको अग्निकुण्डमा प्रेम, एकआपसी सहयोगको भावना, समानानुभूति, स्वाभाविक मायालु र हेरविचार गर्ने व्यबहार जलिसकेको हुन्छ । वसमा राख्नुको अर्थ ‘सधैं लोग्ने मेरो कन्ट्रोलमा रहोस्, मेरो अनुमति विना सास पनि नफेरोस्’ भन्ने अतिवादसंग जोडिन्छ, जसले लोग्ने र लोग्नेको परिवारलाई ‘वस्तु’का रूपमा व्यबहार गर्छ । लोग्ने पूर्णतया स्वास्नीको आज्ञामा काम गर्ने ‘सेवक’सरह हुन्छ । स्वास्नीको झगडालु स्वभावबाट जोगिन लोग्नेले स्वास्नीका सामु आत्मसमर्पण गर्छ । दुर्भाग्यवस, यस्तो परिवारमा माइतीपक्षको चर्को समर्थन रहने गरेको नेपाली परिवारहरूको अनुभव छ ।

यसैगरी ‘स्वास्नी’ कज्याउनेहरूले विवाह गरेर लोग्नेको घरमा आएकी ‘युवती’लाई परिवारको सदस्य भन्दा पनि छोराले विवाह गरेर ल्याएको “सेविका“को व्यबहार गर्छन् । कज्याउने चिन्तन र व्यबहार भएको लोग्ने, स्वास्नी मान्छेका लागि एउटा भयानक सपना हो । हाम्रो समाजमा धेरै महिलाहरूले “छोराछोरीका लागि यस्तो लोग्ने र उसको परिवारसंग सम्झौता गरेका हुन्छन् । रगतको आँसु पिएर जीवन यापन गरिरहेका हुन्छन् । ‘संस्कारी’ र ‘परिवारको लागि’ स्वास्नीको सम्पूर्ण उर्जा र स्वतन्त्रताको चाहना समर्पित हुन्छ ।

‘वसमा राख्ने र कज्याउने’ यी दूवै स्वभाव भएका लोग्नेस्वास्नीको घरपरिवार राम्रो र असल देखिए तापनि जिउँदो ग्रीनेडसरह हुन्छ । कति वेला, यस्तो परिवार पूर्णतया अशान्ति, द्वन्द्व र विखण्डनको भुमरीमा फंस्छ ? भन्न सकिन्न । असल स्वास्नीले लोग्नेलाई ‘वसमा राख्ने होइन’ संयमित तवरले स्वतन्त्रताको उपयोग गर्ने, मायालु जीवनसाथीका रूपमा विश्वास गर्नुपर्छ । अन्याय विरुद्ध बोल्नुपर्छ तर वसमा राख्नका लागि माइतीको अभिमत पक्षमा छ भने अस्वीकार गर्नुपर्छ । ‘कन्ट्रोल’ गर्ने स्वभावका कारण कुनै ओअनी दिन लोग्नेको विश्वास गुम्न सक्छ । विश्वास गुमेपछि पुनः त्यसलाई आर्जित गर्न सजिलो हुँदैन । त्यसैले कन्ट्रोल होइन सहकार्य, जीवनसाथीका रूपमा लोग्ने र लोग्नेका परिवारसंग व्यबहार गर्नुपर्छ ।

‘कज्याउने’ मनसाय र व्यबहार दूवै आत्मघाती व्यबस्था हुन् । विवाह एकजनाको मात्र भएको होइन । विवाह गरेर धर्मपत्नी बनाएपछि ‘कज्याउने’ भन्ने मनसाय नै अनुचित, आपत्तिजनक र लोग्नेस्वास्नीका बीचमा हुने स्वाभाविक प्रेमको बाधक हो । त्यसैले स्वास्नीलाई कल्याउने चिन्तन तुरुत्न त्याग्नुपर्छ । जीवनसाथीसँग सहकार्य, सम्बाद तथा सहअस्तित्व र आदरकासाथ व्यबहार गर्नुपर्छ । नत्र, लोग्नेस्वास्नीको सम्बन्ध बाध्यात्मक हुन्छ । न प्रेम हुन्छ, न आदर हुन्छ, न आदर्श हुन्छ । त्यसैले पत्नीलाई “कज्याउन“ सिकाउने र उक्साउनेका सल्लाहहरू विनम्रतापूर्वक अस्वीकार गर्नुपर्छ ।

अन्त्यमा, एकल परिवारमा वस्ने कि संयुक्त परिवारमा बस्ने कुराको निर्णय आवश्यकता, परिवेश तथा स्थिति विचार गरेर लोग्नेस्वास्नी आफैले गर्नुपर्छ । एकल परिवार होस् वा संयुक्त परिवार दूवैमा आ–आफ्ना असल र कमसलपन हुन्छन् । असल जीवनसाथीले एकअर्कालाई ‘वसमा राख्ने वा कज्याउने’जस्ता अनर्थ व्यबहारलाई ‘लोग्नेस्वास्नी’का विचमा प्रवेश गर्न दिनु हुँदैन । असलमा, पति र पत्नी दूवै एकआपसमा पूरक हुनुपर्छ । पूरक, सहयोगी तथा विनम्र हुनुमा शान्ति सुख र आनन्द छ । लोग्नेस्वास्नीहरू ईश्वरका सर्बोत्तम रचना हुन्, जसको सहकार्यले विश्व खुशी, सुखी र आनन्दित हुन्छ ।

जयहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी

दलित प्राथमिक विद्यालयका विद्यार्थी १७ वर्षदेखि बोरामा बसेर अध्ययन गर्न बाध्य

चन्द्रपुर (रौतहट) । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली

मासु र मदिरा नचल्ने माङ्सेबुङ

टीका खतिवडा, इलाम । इलाममा यस्तो गाउँ छ जहाँ मासु र मदिरा सेवन