प्रतिगमनकारीहरुबाट राजनीतिक अस्थितरता पैदागर्ने र सामाजिक सद्भाव खलबल्याउने प्रयास भयोः अध्यक्ष नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने दाउमा लागेको आरोप लगाएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टीको दोस्रो राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकारलाई ढाल्न उद्दत रहेको आरोप लगाएका हुन् ।

उनले एमालेका गतिविधिले मुलुकलाई अस्थिरतातिर धकेलिरहेको भान भइरहेको बताए । अध्यक्ष नेपालले पछिल्लो समय मुलुकमा सरकारको स्थिरता र राजनीतिक स्थिरताबारे प्रश्नहरू उठिरहेको बताए ।

उनले भने,’मुलुकमा अस्थिरता निम्तिनुको मुख्य कारण सदनभित्र गणतन्त्रवादी र गणन्त्रविरोधी, परिवर्तनकारी र प्रतिगमकारी शक्ति हुनु हो । यो द्वन्द्वले मुलुकमा राजनीतिक अस्थितरता पैदा गर्ने प्रयत्न एक वा अर्को ढंगले भइरहेको छ।’

संघ र सातवटै प्रदेशमा गठबन्धनको सरकार बनेकाले गठबन्धनका दलहरूबीच समझदारीका साथ काम गर्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले पार्टी विधान संशोधन आवश्यकता महसुस भएर नै पार्टीको केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकबाट विधिसम्मत संशोधन गर्ने निर्णय भएको जानकारी दिए ।

उनले सरकारलाई भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी काम गर्न सुझाव दिए । त्यस्तै उनले गठबन्धन दलहरुले तयार पारेको न्यूनतम साझा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई आग्रह गरे ।

उनले भने,‘यतिबेला गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेको छ । यो सरकारले जनपक्षीय कामगर्ने प्रयत्न गरिरहेको छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि सञ्चालन गरी राजनीतिक अस्थितरता पैदागर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ ।’