एकसय ३३ परिवारले रुसमा आफ्ना परिवारका सदस्य जोखिममा परेको खबर गरेका छन्ः परराष्ट्रमन्त्री साउद


डडेल्धुरा। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ती भएकाहरू नेपाल सरकारको अनुमतिमा त्यहाँ भर्ती नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार नेपाल प्रेस युनियनले डडेलधुरामा गरेको पत्रकार सम्मेलनमा उनले विद्यार्थी भिसा र भिजिट भिसामा रुस पुगेकाहरूले त्यहाँको सेनामा भर्ती भएको र जोखिममा परेको बताएका हुन् ।

उनले रुसमा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको र अरू धेरै जना जोखिममा परेको बताए । परराष्ट्रमन्त्री साउदले अप्ठ्यारोमा परेका आफ्ना नागरिकको उद्धार गर्न सरकार जुनसुकै बेला पनि तयार रहेको बताए ।

उनले भने, ‘आठ वटा शव अहिले त्यहाँको शवगृहमा राखिएको कुरा आएको छ । हामीले ती शव नेपाल ल्याउनका लागि कुटनीतिक पहल गरिरहेका छौँ । त्यसबाहेक १३३ परिवारले हामीलाई आफ्ना परिवारका सदस्य त्यहाँ पुगेका र जोखिममा परेको भनेर आग्रह गरेअनुसार हामीले उहाँहरूलाई स्वदेश फिर्ताको प्रबन्ध मिलाउन पहल गरिरहेका छौँ ।’

उनले देश छोड्ने बेला जो कसैले पनि एकपटक सोच्नुपर्ने बताए । परराष्ट्रमन्त्री साउदले वर्तमान सरकारले परराष्ट्र सम्बन्धलाई सुधार गरेर सही ट्रयाकमा ल्याउन सफल भएको दाबी पनि गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले छिमेकी दुई देशहरूको भ्रमण गर्नुभयो । वास्तवमा यी भ्रमणहरू विगतका भन्दा ऐतिहासिक छन्, निर्विवाद र गुणात्मक छन् । यसले परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउने र ट्रयाकमा ल्याउने काम गरेको छ ।’