नेपाल विश्वशिक्षाको केन्द्र बन्नुपर्छ !
डा. गोविन्दशरण उपाध्याय ।
प्राचीन संस्कृत साहित्यमा ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ अर्थात् धन–सम्पत्ति मध्ये सबैभन्दा दीगो धन विद्या हो भनेर लेखिएको छ । नेपालमा शिक्षित (साक्षर) जनसंख्या ह्वात्तै बढेको छ । साक्दिषरता हुनु चेतनाको एउटा खुड्गोकिलो होला तर आत्मनिर्भरताको ग्यारेन्टी होइन । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ तर नेपालमा शिक्षा क्षेत्रसंग गरिएको राजनैतिक छेडछाडले शिक्षाक्षेत्र रोगी भएको छ । शिक्षा क्षेत्रले आत्मनिर्भर नागरिक उत्पादन गर्नुको साटो हीनताबोध र परनिर्भरतामा विश्वास गर्ने जनशक्तिको बढेका छन् । यसले देशको उत्थान त होइन बरू दीर्घकालीन द्वन्द्वतिर सम्बन्धित जनशक्तिलाई अभिप्रेरित गर्छ ।
विद्या (सीप) नभएको तर प्रमाणपत्र भएको जनशक्तिले विद्याका आधारमा होइन, दक्षताका आधारमा होइन प्रमाणपत्रका आधारमा सुविधा प्राप्त गर्न चाहन्छ । सायद नेपालको बढ्दो वेथितितन्त्र यसैको उपज हो । शिक्षाको क्षेत्रलाई राजनैतिक रणभूमिका रूपमा प्रयोग गर्ने योजनाकारहरु यस तन्त्रका ड्राइभर हुन् ।
राणाकालदेखि नै शिक्षा क्षेत्र अपहेलित रह्यो । आज देशमा १६ वटा विश्वविद्यालय छन् । ८४ हजार भन्दा बढी विद्यालयहरू छन् तर नेपाली जनताले विद्या आर्जन गर्न सकिरहेका छैनन । हरेक वर्ष आमावुवाको पसिनाको कमाईको मूठो बोकेर ‘विद्या प्राप्त’गर्न विदेश पलायन गर्ने युवाशक्तिको सङ्ख्या बढेको छ । शिक्षामा विद्या प्राप्त गर्ने र त्यो विद्याका आधारमा आत्मनिर्भर बन्ने खोज गलत होइन ।
विदेश जाने विद्यार्थीको लर्को जतिसुकै धेरै भनेर वर्णन गरे पनि हरेक वर्ष ५ लाखजति विद्यार्थीले एसईई दिन्छन् ती मध्ये केही प्रतिशत मात्र विद्यार्थी विदेश जान्छन् किनभने तिनका अभिभावकले विदेश पठाउन सक्ने रकम जोहो गर्न सक्छन् । बाँकी सबैको भाग्य नेपालसँग नै बाँधिएको छ । उनीहरूको गन्तव्य भारत, खाडी वा नेपालको राजनीतिमा हुन्छ । विदेश जाने जान्छन् तर नेपाललाई बनाउने राजनीतिमा विद्याहीन, आत्मविश्वासरहित र हीनताबोधले भरिएका जमातहरूको बलियो उपस्थिति हुन्छ । अनि, नेपालको राजनीति ठ्याक्कै हामीले भोगिरहेको, देखिरहेको र आलोचना गरिरहेको जस्तो हुन्छ । जुन हामीसँग छ ।
शिक्षाक्षेत्रमा वेथिति कहाँबाट आएको छ ? सबैलाई थाहा छ । शिक्षाक्षेत्रको प्रयोग गरेका राजनैतिक शक्तिहरूले आफ्नो परम्परागत शक्ति गुम्ने डरका कारण त्यसबाट बाहिर निस्कन चाहन्नन् । अब धेरै भयो । राजनीति गरौँ तर शिक्षाक्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गरौँ । विद्यालय र विश्वविद्यालयहरूलाई शिक्षाक्षेत्रःमा काम गर्न स्वतन्त्र छोडी दिउँ । यसो गर्दा सबैको भलो हुन्छ ।
भारतीय सन्त महेश योगीले पटकपटक भनेका थिए ‘नेपाली बालबालिकाको बुद्धि तीखो छ । उनीहरूको जीब्रोले विश्वका अन्य मानिस भन्दा शुद्ध बोल्न सक्छ । नेपाली बालबालिकाहरू ईश्वरका अप्रतीम वरदान हुन् ।’ उनले त्यसै बखत नेपाललाई वैदिक शिक्षा–दीक्षाको केन्द्र बनाउने योजना लिएर आएका थिए तर सरकारहरूले पत्याएनन् वा उनको महत्वलाई बुझेनन् ।
अब सम्पूर्ण मतभेद र मनभेदहरू त्यागेर नेपालका प्रत्येक जिल्लामा विश्वविद्यालयहरू खोल्न पाउने नीति तर्जुमा गर्नुपर्छ । बेलायत, क्यानाडा, अमेरिका र अष्ट्रेलिया जाने रकम र दाताहरू रोकेर नेपाललाई विश्वस्तरीय शिक्षाको केन्द्र बनाउनतिर लाग्नुपर्छ । नेपालीहरूको तीखो बुद्धि, प्रकृतिले दिएको सबैका लागि अनुकुल हुने भूगोल, जनशक्तिको अनेकता र विश्वको सबैभन्दा प्राचीन जीवन्त हिन्दू, जैन, बौद्ध, बोन किरातीजस्ता जीवन्त सांस्कृतिक निरन्तरता यी सबैले शिक्षाको क्षेत्रमा अगाडी बढ्ने हौसला प्रदान गर्छन् ।
नेपाल र नेपाली शिक्षित र दीक्षित भए विश्वलाई शान्ति, सम्पन्नता र सहकार्यको संस्कृति प्रदान गर्न सक्छन् । अरू क्षेत्रमा राजनैतिक लडाई लडौं तर नेपाललाई शिक्षाको विश्वकेन्द्र बनाउने विषयमा एक बनेर अगाडी बढौं । यदि हामी एकठाउँमा उभिएर यो पवित्र कार्यमा लाग्यौं भने आगामी १५ वर्षमा नेपाल स्विट्जरल्यान्ड बन्छ । स्वीट्जरल्याण्डको मुखमा कालोधनको भकारी भन्ने दाग लागेको छ तर शिक्षाक्षेत्रको केन्द्रको रूपमा नेपाल दागरहित विकास प्राप्त गर्ने छ ।