डा.बाबुराम भट्टराई ।
भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित यो अत्यन्त खतरनाक,दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न ! नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा फसाउँदा त्यसको छालले खुला सिमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्छ भन्ने बेलैमा हेक्का रहोस् । लोकतान्त्रिक स्थीरता सहितको स्वतन्त्र र समृद्ध नेपाल नै भारतको जायज सुरक्षा चासोको वास्तविक सहयोगी बन्न सक्छ तर राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले अवस्यम्भावी रूपमा निम्त्याउने द्वन्द्वग्रस्त र अस्थीर नेपालले विश्व महाशक्ति बन्दै गरेको उत्तरी छिमेकी चीनलाई समेत प्रकारान्तरले हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्छ।
माओवादी क्रान्तिकारी जनयुद्ध अग्रगामी वैज्ञानिक विचारद्वारा निर्देशित र स्वदेशी पहल र नेतृत्वमा संचालित भएकाले नै त्यसको शान्तिपूर्ण रूपान्तरण सम्भव र सहज भएको थियो । तर अहिलेको बाहिरबाट षड्यन्त्रमूलक ढंगले थोपर्न खोजिएको धार्मिक कट्टरपन्थ र राजतन्त्र पुनर्स्थापनाको एजेण्डाले देशभक्त नेपालीहरूको प्रतिरोध संघर्षलाई राष्ट्रिय युद्धमा परिणत गरेर हिमाली क्षेत्रमा दीर्घकालीन द्वन्द्व निम्त्याउन सक्छ र त्यसको आगो भारतभरी सल्कन सक्छ। त्यसैले ‘आ बयल् मुझे मार्’ भनेजस्तो आत्मघाती हर्कत भारतीय सत्तापक्षबाट नहोस् !
नेपाली जनताले लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको र भारत लगायत अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत कसैले नगरोस् । लोकतन्त्रमा हुने र देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैलाई रहोस् ।

प्रतिक्रिया