दुर्गापूजा गर्दैगर्दै…
डा. गोविन्दशरण उपाध्याय ।
नेवारहरूले बनाएको सुन्दर महिषासुर मर्दिनीको अष्टधातुको यो मूर्ति हाल न्युयोर्कको म्युजियममा छ । मूर्तिहरू म्युजियममा हुनु नौलो कुरा होइन तर यो नेपालको प्राचीन मूर्ति त्यहाँसम्म पुर्याउनेहरूको घर–परिवारले यो मूर्ति बेचेर कति पैसा कमायो, कति मोज गर्यो र अहिले त्यो व्यक्ति र परिवारको के अवस्था छ ? यो निकै महत्वपूर्ण प्रश्न हो । हामीले पर्वहरू मनाउंदै गर्दा हाम्रा पुजनीय देवीदेवताका मूर्तिहरू म्युजियममा ‘हेर्ने वस्तु’मा रुपान्तरित हुनु नेपाली र व्यक्तिगत तवरमा हामी सबैलाई लज्जाबोधको विषय हो ।
एकातिर धर्मपरिवर्तन गराएर देशलाई धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा परिचय विहिन बनाइदै छ भने अर्कोतिर महिषासुर मर्दिनीजस्ता हजारौंहजार आस्था र विश्वासका धरोहरहरू विदेशमा बिक्रय गरिदै छ । भगवती दुर्गाको आराधना गरेर बलि दिने वा बलिको विरोध गर्ने भन्दा पनि आफ्ना मौलिक रैथाने सम्पदाहरू (मूर्त र अमूर्त) सम्पदाहरूको सुरक्षातिर ध्यान दिनु आवश्यक छ । अष्टमी वा महानवमीका दिन भक्ति र श्रद्धाको खोलो बगाउने अरू दिन चाहिं मन्दिर/कोटहरूको वास्ता नगर्ने श्रद्धाचाहिं आत्मघाती हो । हरेक गाउँ तथा टोलले आफ्ना सम्पदाहरूको रक्षा र पूजाआजको दीगो व्यबस्था गर्न लागौं ।
हरेक गाउँ र टोलका समुदायहरूले स्थानीय मूर्त तथा अमूर्त सम्पदाहरूको सुरक्षा गर्ने कार्ययोजना बनाउंदै भगवती देवी दुर्गाको आराधना गर्नेतिर पनि ध्यान दिनुपर्छ । आजको मितिमा गाउँगाउँबाट प्राचीन सम्पदाहरू चोरेर विदेशमा महङ्गो मुल्यमा बेच्ने “सफेद पोस“ चोरहरूको बिगीविगी बढेको छ । यस्ता चोरहरू जस्तोसुकै आवरणमा हुन सक्छन् । यस्तो अवस्थामा स्थानीयहरूले नै आफ्नो गाउँठाउँमा उपलब्ध प्राचीन सम्पदाहरूको फोटो खिचेर राख्ने, सो फोटो स्थानीय प्रहरीलाई उपलब्ध गराउने, स्थानीय सरकारसंग समन्वय गरेर वडा भवन वा तोकेको ठाउँमा ती सम्पदाहरूको विवरण राख्ने र ती विवरणहरू नेपालको आर्काइभ–सेन्टरमा पठाउने व्यबस्था मिलाउनु पर्छ ।
यस्तो नहोस् कि आज भगवतीको पूजाआजा (बलि दिंदै वा नदिएर) गरिन्छ, भोलिपल्ट त्यो मन्दिरको मूर्ति न्युयोर्कको म्युजियमका लागि प्रस्थान गर्छ ? के हिन्दु, के बौद्ध, के जैन, के किराती, के बोन्पो, के आस्तिक, के नास्तिक, के समाजवादी, के साम्यवादी, के मुस्लिम तथा के इसाई नेपाली प्राचीन सम्पदाको रक्षा गर्ने जिम्मा सबैको हो ।
अन्त्यमा, श्रद्धा त श्रद्धा नै हो तर श्रद्धा गर्न नजान्दा बढो नोक्सानी हुन्छ । मन्दिरका मूर्तिहरूमा अवीर तथा गुलियोहरू अर्पण गर्दा अवीरमा रहेको सीसाले मूर्तिको आयुलाई क्षय गर्छ । मूर्तिहरू कुरूप हुन्छ, पाप्रा उकिन्छन् । मूर्तिका लागि यो अविर निकै घातक हुन्छ । त्यसैले अवीरको विकल्प खोज्नुपर्छ । उदाहरणका फूल मात्र अर्पण गर्न सकिन्छ तथा गाउँमा सजिलै पाइने कपुरको रूखको डाला घोटेर बनाएको चन्दन अर्पण गर्न सकिन्छ । यसरी देवदेवीको पूजाआजा गर्न पनि पाइने र मूर्तिलाई पनि कुनै क्षति नहुने बाटो अवलम्बन गर्न हामी सबै स्वयं तयार हुनुपर्छ ।
स्वस्तिअस्तु
फोटो : प्रा.डा. दीपक