एनआरएनएमाथि किन खनिइन् झाँक्री ?
नारायण गाउँले ।
झाँक्रीजीलाई थाहा छ, एक वर्ष विदेशी रेस्टुरेन्टमा काम गर्ने नेपालीले देशमा पैसा पठाएनन् भने देश टाट पल्टिन्छ । सोझो भाषामा देश टाट पल्टिने भनेको देशसँग वैदेशिक मुद्राको सञ्चय सकिनु या ज्यादै कम हुनु हो । औषधि, खाद्य, पेट्रोल, यातायात, इन्टरनेटजस्ता आयातदेखि वैदेशिक ऋणको ब्याज तिर्न विदेशी मुद्रा चाहिन्छ ।
यतिबेला देशसँग १० अर्ब डलर जति सञ्चय छ । त्यसले एक वर्ष पनि धान्दैन । संयोग के छ भने देशमा भित्रिने रेमिटेन्स पनि त्यति नै छ । भारतलगायतका मुलुकबाट अनौपचारिक रूपमा भित्रिने वैदेशिक मुद्राको अंश पनि ठूलै रहेको मानिन्छ । झाँक्रीजी र हामी मिलेर बनाएको देशको अर्थतन्त्र चिन्तालाग्दो छ । वैदेशिक मुद्रा कमाउने मुख्य स्रोत व्यापार र वैदेशिक लगानी हुनुपर्ने हो । तर व्यापारबाट कमाउनु त परको कुरा, देशले बर्सेनि १५ खर्ब रुपियाँ घाटा बेहोर्छ । अमेरिकाबाहेक प्रायः सबै व्यापारिक देशसँग हाम्रो व्यापारघाटा छ । त्यो १५ खर्ब कहाँबाट ल्याएर देश जोगाउने भन्ने चिन्ता कसैलाई छैन । भारतदेखि अमेरिकाका रेस्टुरेन्टसम्म रातदिन खटेर काम गर्नेले धानिदिएको हुनाले नै हामीलाई यत्रो घाटाबारे ज्ञान, चिन्ता र तदारुकता नभएको हो । कसैले विदेशमा पसिना बगाइदिएकोले गर्दा नै तिनलाई ’ठूलो कुरो नगर्नुस्’ भन्दै आफैं ठूलो कुरो गर्न पाइएको हो ।
झाँक्रीजी अलि रुखो र कड़ा भए पनि भ्रष्ट हुनुहुन्छ जस्तो लाग्दैन । र, विदेशमा श्रम बेच्ने नेपालीले पनि देशलाई सके मद्दत गरेको छ, नसके पनि भ्रष्टाचार गरेको छैन, कमिशन खाएको छैन, महंगा गाड़ीदेखि मोबाइलसम्म बोकेर व्यापारघाटा बढाएको छैन । त्यस्तो श्रमिकलाई श्रमकै आधारमा अपमानजनक भाषाशैलीमा सम्बोधन गर्नु साह्रै असभ्य र अनैतिक हुन्छ । के बिर्सिनुभएन भने चालीस लाखको हाराहारीमा रहेको यो सङ्ख्या देशमा आउने पर्यटक सङ्ख्याभन्दा बढ़ी हो । रेमिटेन्सको अलावा पनि नेपाल आउँदा तिनको खर्च औसत पर्यटकजस्तै हुन्छ ।
भाषाशैली र केही आधारभूत विषयबाहेक झाँक्रीजीका सबै तर्क गलत पनि छैनन् । उहाँलाई प्रश्न सोध्नेहरूको भाषाशैली र प्रस्तुति आफैंमा असभ्य र भड्काऊ देखिन्छ । त्यसले पनि उहाँलाई मर्यादा नाघ्न सहयोग गरेको होला । तर प्रश्न सोध्ने व्यक्ति सामान्य नागरिक र उत्तर दिने व्यक्ति ‘नेता’ भएकाले झाँक्रीजी अलि संयमित देखिनुपर्ने थियो ।
रेस्टुरेन्टमा काम गर्नेले मात्रै देशलाई दिएको भन्ने होइन । देशले पनि सकेको दिएकै छ । भोलि देश समृद्ध र सुरक्षित बन्दै जाँदा थप उदार पनि बन्ने नै छ । देशले राजनैतिक अधिकारबिनाको गैरआवासीय नागरिकताको व्यवस्था गरेको छ । हो, यो एउटा परिचयपत्र जस्तै हो । तर प्रश्नकर्ताले भनेजस्तो कागजको खोस्टो होइन । देशले दिने परिचयपत्रलाई आदर गर्न नसक्ने र खोस्टो देख्नेलाई किन नागरिकता चाहियो र ? भोट हाल्ने या चुनावमा लड्ने अधिकार बाहेक अरू सबै हक भएको त्यो नागरिकता परिचयपत्रभन्दा अलि माथिल्लो विषय हो । परिचयपत्र एउटा मन्त्रालयको परिपत्रले खोस्न सकिएला, अहिलेको हक नागरिक हक हो, संवैधानिक हक हो । फेरि राजनीति गर्छु भन्नेलाई देशले रोकेको छैन । रवि लामिछाने फर्किनुभएको छ, तपाईं पनि फर्किनुहोस् । सकियो त !
हिजो वंशजको आधारमा नेपाली नागरिक रहेको र आज विदेशी नागरिकता लिएकाहरूले एक पुस्ताका लागि उक्त नागरिकता कायम भए हुन्थ्यो भन्ने चाहना राख्नु गलत पनि होइन । तिनलाई झाँक्रीजीले जस्तै गाली गर्न पर्दैन । तर, देशको वर्तमान संविधान, भूराजनैतिक अवस्था र विद्यमान कानुनहरूले त्यसलाई असम्भव बनाएका छन् । राजनैतिक हकसहितको दोहोरो नागरिकता देशलाई जरूरी छैन । तर देश अनुदार पनि छैन । कति देशमा गुमेको नागरिकता हासिल गर्न फलामको चिउरा चपाउनु पर्छ, तर नेपालमा विदेशी नागरिकता छोडेको दिन पुरानै हैसियतको नागरिकता कायम हुन्छ । यसमा देशलाई धन्यवाद दिऊँ ।
२०–३० वर्ष हामी सबै मिलेर देश बनाउनुपर्ने छ । झगड़ा गरेर, टुक्रिएर, दोषारोपण गरेर होइन । व्यापारघाटा र रेमिटेन्स बिर्सिनुहोस्, देशसँग विकास खर्चका लागि एक रुपियाँ राजश्व नबच्ने अवस्था छ । कति वर्ष त तलबभत्ताका लागि ऋण लिइएको छ । एक मिटर बाटो पिच गर्न पनि ऋण लिन पर्नेछ । देशमा सुको विकास भएको छैन तर अहिल्यै ऋणको साँवा–ब्याजका लागि विकास–खर्च भन्दा धेरै छुट्याउनुपर्ने अवस्था छ । ब्याज तिर्न ऋण लिनुपरेपछि कहाँ पुगिएला ? यो स्थिति ५–१० वर्षमा बदलिन्न । त्यसैले सबै संयमित, तथ्यपरक र परिपूरक बनौं । देश रह्यो भने बल्ल आवासीय या गैरआवासीय नागरिक भइने हो । भावुक भएर म नेता भएँ भने एयरपोर्टमा बाहिर जाने युवालाई रोक्छु भन्ने भाषण नगरौं ! मलेसियामा काम गर्नेलाई फर्काउँछु नभनौं । सकिन्छ भने देशमैं भएका जनशक्तिलाई उचित श्रम र रोजगार सिर्जना गरौँ ! बाहिर बस्नेले पनि मूलतः सहयोग गर्ने आफ्नै परिवारलाई हो । संयोगले देश र अर्थतन्त्र अति गरिब र अस्वस्थ भएकाले परिवारलाई गरिएको सहयोग पनि ’लाइफलाइन’ जस्तै बनेको हो । मैले नै धानेको छु भन्दै बदलामा मैले के पाउने भन्ने जस्तो व्यापार नगरौं ! भनिन्छ, ढुङ्गालाई माटाको भर ! माटोलाई ढुङ्गाको भर ! जय नेपाल !