कोशीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्छ : नेता राई


विराटनगर । कोशी प्रदेशका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले गैरराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् ।

बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आफ्नो धारणा राख्दै राईले एमालेले आफ्ना पार्टीका ३९ सांसदलाई प्रयोग गरेर अनैतिक व्यवहार प्रदर्शन गरेको आरोप लगाएका हुन् ।

उनले ‘कोही मुख्यमन्त्री हुन ४७ सांसद समर्थक रहेको सरकार ढाल्न धेरै थोक गर्न फेरि ४७ सांसद बोकेर मुख्यमन्त्री दाबी पेश गर्ने यो कहीँ मिल्छ ? जम्मा ३९ सांसद लिएर बस्ने बहुमतको सरकार ढाल्ने, यो एमालेको अनैतिक चरित्र हो।’

राईले कोशीमा मध्यावधि निर्वाचनमा गइ ताजा जनादेशमा जानुपर्ने बताए । उनले निरन्तर सरकार फेरिरहने क्रमले प्रदेशप्रति वितृष्णा बढेको बताए । उनले भने, ‘बजेट शून्य अवस्थामा प्रदेश पुग्यो । विकासको नाममा एक चप्परी माटो खन्न सकिएन ।’