कोशी घटनाप्रति विश्वप्रकाशको टिप्पणीः पार्टीको संस्थागत निर्णय सबैले मान्नुपर्छ


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले भनेका छन्, ‘कोशी घटनाझ लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं ! गणितीय जटिलतामाझ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो–कोशीमा एमालेसहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर ।’

उनले पार्टीको संस्थात निर्णय मान्नुपर्ने बताएका छन् । उनले भनेका छन्,’काँग्रेस, माओवादी र एसको गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो । काँग्रेसको संस्थागत निर्णय पनि यही हो । पुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं तर पार्टीको संस्थागत निर्णय मान्यौं । यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं । सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’

उनले घरायसी ठाकठुकमा छिमेकतिर लहसिन नहुने बताएका छन् । उनले भनेका छन्, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न । पुस १० पनि नबिर्सौं । माओवादीको यक्ष प्रश्न-कोशीमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, काँग्रेसलाई दुईपटक ब्ल्याङ चे दियौं । तेस्रोपटकमा हामीले किन नपाउने ? काँग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?’

उनले कोशीको मुख्यमन्त्री उम्मेदवार चयन गर्दा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला दुवैले संस्थागत प्रक्रिया नअपनाएकोमा असन्तुष्टि जनाएका छन्।

उनले भनेका छन्, ‘व्यक्ति चयनमा संस्थागत प्रक्रिया ‘न सभापतिले ‘अपनाउनु भयो, न ‘फरक विचार समुहको नेताले’ आफ्नै समुहभित्र ‘साझा मतझ खोज्नुभयो’  थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस् । हामी बदलिन तयार छौं । पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।’