तीर्थाटन जस्तो प्रधानमन्त्रीको चीन भ्रमण !
डा. बाबुराम भट्टराई ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आफैंले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो । नेपाल यतिबेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले संकटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथिसत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने ।
नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिंणका दुइ ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफनो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिंदै आइरहेको छ। अहिले २१ औं शताब्दिमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला हामीले उसंगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना/अवसरको सदुपयोग गर्नुपर्ने हो । त्यसनिम्ति उसले अघि सारेको बीआरआई र जिडिआईलाई कसरी हाम्रो दीर्घकालीन राष्ट्रिय हितमा प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्थ्यो । कमसेकम परम्परागत हिमाली पर्खाललाई छेडेर दुई देशको अर्थतन्त्रलाई जोड्ने आधुनिक यातायात/पारवहन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो । तीर्थाटन त हुँदै गर्थ्यो ।
सबैले लेखेर राखौं, सयौं बर्षदेखि अविकास/अल्पविकासको दुष्चक्रमा फस्दै आएको नेपालको तीब्र गतिको आर्थिक रूपान्तरण ‘दुई अंकको आर्थिक वृद्धिदर,दुई दशक निरन्तर’ को लक्ष्य दुई ठूला छिमेकी अर्थतन्त्रको मूल्य शृंखलासँग तालमेल मिलाएर अघि नबढी सम्भवै छैन । इतिहासले मलाई गलत साबित गरेमा खुशी हुनेछु ।