शिक्षा विधेयकमा हाम्रो नि असहमति छ, तर पठनपाठन बन्द गरे कारबाहीः मेयर साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षा विधेयकलाई स्वीकार गर्न नसकिने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत मेयर साहले विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो भएको बताएका हुन् ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेको भन्दै मेयर साहले शिक्षा विधेयक संवैधानिक प्रावधानविपरीत रहेकाले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।
उनले भनेका छन्, ‘संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो । संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ ।’
तर मेयर साहले विद्यालयको पठनपाठन बन्द गरेर आन्दोनलमा गए शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘शिक्षा विधेयकमा हाम्रो नि असहमति छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १० हजार भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ । आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन्, छन् । तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठनमा अबरोध नपुर्याउनु होला । यस्ता अबरोध पुर्याउनेहरुलाइ कानुन(संविधान ) अनुसार कारबाही हुनेछ ।’