एउटा जीवित जङ्गल !
डा. गोविन्दशरण उपाध्याय
सन् २०२१ मा ससुरा बाको वार्षिकीको अवसरमा मथुरा वृन्दावन पुगियो । केवल तीन दिन विभिन्न कार्यक्रममा भाग लिने, प्रसाद ग्रहण गर्ने अवसा मिल्यो । फुर्सद निकालेर गोवर्धन, बरसाना र नन्दगाउँ पनि पुगियो । मैले केटाकेटीमा देखेको, भोगेको र सुनेको वृन्दावन सिमेन्टको जङ्गलले भरिएछ । मन्दिरहरूमा मान्छेको थाम्नै नसकिने भीडको कुरा नै नगरौं । वृन्दावनको घनत्वनै भन्नुपर्छ, मान्छेहरू असुविधा भोग्दै दर्शन गर्न आउँछन् र खुसी भएर फर्कन्छन् । मसँग पनि धेरै समय थिएन, प्रमुख मन्दिरहरूको दर्शन गर्नु र दिउसो कथा सुन्नु मेरो दिनचर्या बन्यो । मान्छेको भीडले मनलाई शान्ति मिलेन ।
ससुरा वा को घरमा एउटा पुरानो स्कुटर थियो । तेस्रो दिन १०ः१५ मिनट जाँदा म घरबाट निस्किएँ । गन्तव्य थाहा थिएन तर म एकान्त चाहन्थे । म वृन्दावनमा कदमका रुखको छाँया र तुलसीको सुगन्ध चाहन्थे । बंसीबटको बाटो भएर मैले यमुना नदी तरें । आधा घण्टा ड्राइभ गरेपछि एकान्त जङ्गल देखियो । बाटोमा स्कुटर लक गरेर एकान्तको खोजिमा म जङ्गल भित्र छिरें । जङ्गल निकै घना थियो । त्यो जङ्गलमा मैले वबुल र कदमको बाहेक अरू रुख चिनेको थिइन । म अगाडी बढ्दै गर्दा एउटा गोरेटो भेटियो । त्यो गोरेटो सुनसान थियो तर मलाई अगाडी बढ्न मन लाग्यो । म बढ्दै गएँ ।
गोरेटोका दुईतिर कदम र जामुनाका अग्लाअग्ला रूख थिए ।कदमका रुखबाट फुलको अत्यन्त मादक सुगन्ध आइरहेको थियो । यत्तिकैमा मैले अगाडी केही ग्वालाहरूलाई गाई हाँकेर हिंडेको देखें । मैले गाईको घांटीमा बाँधिएको घन्टी बजेको र केही जोर मुरलीहरू बजिरहेको सुने । त्यो मुरलीको स्वर निकै मोहक थियो, कर्णप्रिय थियो । कदमका फुलहरूको सुगन्ध, मुरलीको ध्वनी र मथुराको प्रचण्ड गर्मीमा जङ्गलको सितलता – मलाई “के खोज्छन् काना आँखा“झैं भयो ।अनि, केही वेरपछि हाँस कराएको सुनेपछि नजिकै सरोवर भएको निश्चय गर्दै म अगाडी बढें । नभन्दै त्यहाँ सुन्दर सरोवर थियो ।
त्यस्तो सुन्दर सरोवर मैले कहीं पनि देखेको थिइन । सरोवरभित्र लटरम्म कमल फुलिरहेका थिए भने चारैतिर सुन्दर घाट बनेका थिए । सरोवरभित्र र वरिपरी फोहोरको लेस थिएन । मैले मनमनै भने “अद्भुत, जङ्गलका बिचमा यस्तो सरोवर अद्भूत !! मैले देखें अर्को किनारामा ती गोठालाहरूले गाईवस्तुहरूलाई पानी खुवाइरहेका थिए । अनि, म पनि सरोवरमा पुगें । सिंडीहरूबाट उत्रंदै सरोवरको पानीलाई स्पर्श गरें । मैले आफ्ना आराध्य देव राधाकृष्णलाई सम्झें र अनि मनमनै भने “कुनै वेला राधा र कृष्णले यसरी नै यो सरोवरको पानीलाई छोएर एकआपसमा छ्यापेका थिए होलान् र त्यो देखेर उनीहरूसंगै आएका गोठाला केटाकेटीहरू पनि एकआपसमा पानी खेलेका होलान् ? मैले नमस्कार गर्दै त्यो सरोवरको अन्जुलीमा भरेर शिरमा लगाएँ ।अनि, त्यही पानीले आचमन गरें ।
म एउटा अत्यन्त स्वच्छ नदीको किनारामा उभिएको छु ।त्यो नदीको किनाराको बालुवा सुनझैं चम्किरहेको छ । त्यो पानीभित्र असंख्य हाँसहरू पौडिरहेका छन् । सुनझैं चम्किला डुंगामा मान्छेहरू स्वतन्त्र रूपमा घुनिरहेका छन् । हाँसहरूले एकआपस कुराकानी गरेको म सुनिरहेको छु । सबैभन्दा अचम्मको कुरा त के भने मैले ती सम्बादहरू बुझ्न सक्छु । अनि, मेरो ध्यान किनाराका जङ्गलमा गयो । त्यहाँ अनेकौं प्रकारका रुखहरू, लहराहरू, फुलहरू छन् । त्यो जङ्गल आफैमा चम्किरहेको छ । प्रत्येक रूख र विरुवाको आफ्नो प्रभामण्डल छ । ती स्वप्रकाश छन् । मैले तेस्ता रुखहरू/विरुवा देखेको थिइन । ती रुखहरू लहराहरू एकआपसमा मान्छेझैं संवाद गरिरहेका छन् । ती मान्छेझैं एताउति हिडिरहेका छन् । विरुवाहरू पनि आफ्ना मातापितासंगै हिंडडुल गरिरहेका छन् । कुनै पनि रुख बूढो भएको, सुकेको मैले देखिन ।
म जङ्गलतिर फर्के । मैले अनुभव गरें, मभित्र कुनै थकाई छैन । म प्रफुल्लित छु, स्वास्थ्य छु, स्वतन्त्र छु र सबैभन्दा महत्वपूर्ण कुरा म चिन्तारहित छु।। “अहा, कति राम्रो जङ्गल, कति सुन्दर नदी भन्ने कुरा सोच्दै म जङ्गलको छेउमा पुगें । म नजिकैको कदमको रुखले आफ्ना हाँगाहरू झुकाउँदै भयो “स्वागत छ । मलाई तपाईं आउंदै हुनुहुन्छ भन्ने सूचना थियो । अव तपाईं हाम्रो पाहुना हुनुहुन्छ । हाम्रो स्वामीले तपाईंको स्वागतमा कुनै पनि प्रकारको न्यूनता नहोस् भन्ने आदेश दिनुभएको छ । तपाईं यो जङ्गलको कुनै ठाउँमा पनि स्वतन्त्रता पूर्वक डुल्न सक्नुहुन्छ । त्यो नदीमा आनन्दले विहार गर्न सक्नुहुन्छ । यो जङ्गलका हरेक बस्तुले तपाईंलाई चिनेको छ । म यो सबै सुनेर अचम्भित भएको छु । एउटा रूख र जङ्गलले मलाई कसरी चिन्न सक्छन् र यिनीहरूले मेरो स्वागत कसरी गर्ने छन् ? अनि, यिनका स्वामी को हुन् ? मैले आफैसंग प्रश्न गरिरहेको छु ।
“हो, तपाईंको मनमा यी विचारहरू आउनु स्वाभाविक हो । तपाईंको धर्तीका रुखहरू बोल्न सक्दैन । चराहरूको भाषा तपाईं बुझ्न सक्नुहुन्न । तर यहाँ सबै कुरा मनले सोचे पुग्छ । अनि, यहाँ तपाईंले सनातन सत्य कुरामात्र सोच्न सक्नुहुन्छ । यहाँको हरेक बस्तु तपाईंझैं वा तपाईं भन्दा पनि बढी बुद्धिमान छ तर बिनम्र छ । यहाँ तपाईंले सोचेको बस्तु तपाईंको सेवामा स्वतः प्राप्त हुन्छ । यहाँ आउनभन्दा पहिलानै तपाईंलाई हाम्रो संसार बुझ्ने र यहाँ बस्न सक्ने क्षमता स्थापित भएको छ । तपाईंले सोच्ने हरेक कुराहरू यहाँ प्राकृतिक रूपमा बस्तुगत भएर प्रकट हुन्छन् र त्यो कुरा यहाँका हरेक बस्तुलाई थाहा हुन्छ । यहाँ केही पनि लुक्न सक्दैन ।
–क्रमशः