गृहमन्त्रीले गर्नुपर्ने अर्को महत्वपूर्ण एउटा काम !
शारदाप्रसाद त्रिताल ।
वर्तमान गृहमन्त्रीले आफ्नो तहबाट सम्भव हुनेसम्म कतिपय प्रशंसायोग्य कामहरु गर्दै आउनु भएको छ । उहाँले सुराकी खर्चको नाउँमा पञ्चायतकालदेखि हुँदै आएको लूटलाई बन्द गर्नुभयो । दाइभाउजु कम्पनी र प्रमुख प्रतिपक्षी दलको धुवाँधार प्रतिरोधका बावजूद उहाँको तहबाट गर्न सक्ने हदसम्म नक्कली भुटानी शरणार्थी काण्डको भण्डाफोर गराउनु भयो ।
अनुसन्धानमा संलग्न कतिपय काविल प्रहरी अधिकृतहरुको संरक्षण गर्न भने उहाँ असफल हुनु भयो । ललिता निवास जग्गाको किर्ते काण्डको अनुसन्धानमा पनि दाइभाउजु कम्पनी र आफ्नै प्रधानमन्त्रीको कठोर दवावका बीच कमजोर रुपमा भए पनि अदालतमा मुद्धा दायर गर्ने कार्यको अगुवाइ गर्न सफल हुनुभयो ।
सुन तस्करी काण्डमा आफ्नै प्रधानमन्त्री र पार्टीका उच्च तहका नेताहरुको दवाव र प्रतिरोधका बावजूद केही हदसम्म सफलता पाएकै मान्नुपर्छ । विभिन्न किसिमका विवादका बीच पनि नागरिकता विधेयकलाई कार्यान्वयनमा ल्याउन सक्रियता देखाउनु भयो । अब एउटा अर्को महत्वपूर्ण काम पनि उहाँबाट हुन्छ भन्ने आशा गर्न सकिन्छ त्यो हो विभूषणको लागि छनोट प्रक्रियालाई वस्तुपरक र पारदर्शी बनाउने तथा विभुषण पाउनेहरुको ताँती घटाउने विषय ।
हालसम्म विभुषणका लागि छनोट हुने प्रक्रिया र संख्याले राष्ट्रको दुर्लभ स्रोतमात्र खेर गएको छैन, विभूषणको साख र त्यो पाउने केही योग्य व्यक्तिहरुको वेइज्जती समेत हुने गरेको छ । कतिपय व्यक्तिले पाएको विभूषण अस्वीकार गर्ने गरेकोबाट पनि यो वास्तविकताको पुष्टि भएकै छ । एक अनुमानअनुसार हालसम्म विभूषण पाउनेमध्ये ९५ प्रतिशतभन्दा बढी व्यक्तिहरु त्यस्तो विभूषण पाउन योग्य नै नभएको देखिन्छ । यही तथ्यलाई आधार मानी संख्या निर्धारण गर्दा उपयुक्त हुन्छ । त्यसैले गृहमन्त्रीज्यूको ध्यान यता पनि जाने छ भन्ने विश्वास गरौं । यसलाई चाकरी नमानिदिनु होला ।