कृष्णतत्व अर्थात् डार्क म्याटर
डा. गोविन्दशरण उपाध्याय ।
विहान ब्रह्ममुहुर्तमा उठ्ने र केही वेर मनमनै गायत्री जप्ने वानी बसेको ४४ वर्षजति भयो । विहानको शान्त, स्वच्छ र कोलाहलरहित बातावरण सबैको लागि हितकर नै छ भन्ने मेरो ठम्याईरहेको छ । म सबै देवीदेवतामा आस्था राख्छु तर बाल्यकाल देखिनै राधाकृष्णलाई इष्टदेव मान्ने हुँदा स्वाभाविक रूपमा, यिनै सम्बन्धि स्तोत्र तथा मन्त्रहरू पनि पाठ गर्छु । एकविहानको मिठो हावा र शान्तिले जादुको लौरोले झैं मनलाई अति शान्ति दिन्छ । इष्टदेवतासंग जोडिने प्रयत्न गर्दा अनन्तसंग आत्मसाक्षात्कार हुन्छ ।
विगतका केही दिन देखि मेरो अभिरुचि क्वान्टम – पार्टिकल्स र डार्क एनर्जी वा डार्क मेटरका विषयमा बढेको छ । यस विचमा मैले थुप्रै विज्ञान केन्द्रीत खोज, सम्भावना तथा भविष्यवाणीहरू पढें । आधुनिक विज्ञानले क्वान्टम फिजिस्कको कुरा गर्छ, डार्क मेटरको कुरा गर्छ । सामान्यता अंग्रेजीमा ब्लाक र डार्क पर्यायवाची होइन तर कुनै पनि बस्तु वा द्रव्य अति वजनदार हुँदा वा अति गहिरो हुँदा त्यो डार्क हुन्छ । विज्ञानको क्षेत्रमा यो डार्क–इनर्जी एउटा काल्पनिक तर बास्तविकतामा रुपान्तरण हुन सक्ने सम्भावना भएको सत्य हो । अर्को शब्दमा कृष्ण–उर्जा विज्ञानको रहस्यवाद हो । यो कृष्ण उर्जाले सम्पूर्ण सृष्टि (सम्पूर्ण ग्यालेक्सीहरूसहित)को ९५% ढाकेको आधुनिक विज्ञानको अनुमान छ । क्वान्टम–पार्टीकल्सहरू पनि कृष्णशक्ति (डार्क एनर्जी वा डार्क कृष्णतत्व (डार्क म्याटर) भित्र नै प्रवाहित भइरहेका छन् ।
यही चिन्तन चलिरहेको थियो कि मेरो आँखाका अगाडी कृष्णतत्व देखियो । मैले कृष्णतत्वको जुन रूपरङ्ग देखें, अनुभव गरें, देख्न नसक्नेहरूका लागि एउटा मानसिक सम्म्मोहनको अवस्थामा उत्पन्न विकार हुन सक्छ वा अन्धविश्वासको पराकाष्टा हुन सक्छ । मेरो आन्तरिक विश्वमा उदाएको त्यो कृष्णतत्व (डार्कम्याटर) काल्पनिक, अन्धविश्वास वा कुनै प्रकारको मनोरोगको उपज होइन । यो त्यतिनै सत्य हो जतिसत्य तपाईंहरूले यो लेख पढिरहनु भएको छ र मेरो अनुभूतिसँग सहमत असहमत भएर विवेचना गर्दै हुनुहुन्छ । मैले अथवा तपाईंले विश्वास वा अविश्वास गर्दैमा सत्य रुपान्तरित हुँदैन । सत्यको निरुपण बहुमत वा अल्पमतले हुँदैन ।
जव महासागरजस्तो जताततै फैलिएको कृष्णतत्व मेरो अगाडी प्रकट भयो, सीमाहरू ध्वस्त भए । मैले अनुभव गरें, म अनन्त कृष्णमा पौडीखेलिरहेको छु । मैले अनुभव गर्दै गएँ – न यहाँ पृथ्वी छ, न आकाश छ, न रूख छन्, न समय अर्थात् काल नै छ । मैले देखें – म भित्र एउटा सानो प्रकाश छ, त्यो प्रकाश पनि त्यही कृष्णतत्वभित्र रुल्मुलिएको छ । त्यो मान्छेजस्तो पनि छ, त्यो मान्छेजस्तो पनि छैन । मैले देखिरहेको छु, अनुभव गरिरहेको छु तर मसंग समय छैन, स्थान छैन, निजत्व छैन, गोविन्द भन्ने व्यक्तित्व पनि छैन । यी सबै त्यही कृष्णतत्वमा समाहित छन् ।
तर मैले अनुभव गरें मैले मेरो निजत्व गुमाएको छैन । मैले जान्ने प्रयत्न गरें, मैले अनेकौं पर्यावालोचन योग्य ब्रह्माण्ड, ती ब्रह्माण्डमा भएका अनन्तअनन्त ताराहरू, सूर्यहरू, पृथ्वीहरू र ती पृथ्वीमा भित्र रहेका पाँच तत्वले बनेका, भोजन गरेर बाँच्न सक्ने, रूप, रस, गन्ध, शब्द जीवि प्राणिहरू भेटें । अनि, ती ब्रह्माण्डहरूको पनि प्रत्यक्ष गरें जहाँको जीवनका लागि अक्सिजन, कार्वनजस्ता मजस्तालाई चाहिने कुनै पनि बस्तुहरूको आवश्यकता पर्दैनथ्यो । केही सेतोतत्वले निर्माण भएका थिए, केही प्रकाशतत्वले निर्मित भएका थिए । तिनको आयु छ तर मैले जानेका अंक (नाप्ने सिद्धान्त) ले ती मेजर हुनैसक्दैनथे । अनि मैले कृष्णको अर्थ सम्झें “अथवा कर्षयेत्सर्वं जगत्स्थावरजङ्गमम् ।
कालरूपेण भगवान् तेनायं कृष्ण उच्यते । जसले आफ्नो कालोवर्णका कारण सम्पूर्ण विश्वलाई आफूतिर आकर्षित गरेर अस्तित्व प्रदान गरिरहेको छ र काल बनेर तिनको रक्षा र विनाश पनि गरिरहेको छ, सम्पूर्ण विश्व जुनमा सीमित छ, त्यही कृष्ण हो । आधुनिक विज्ञानले कृष्णतत्वको जुन परिकल्पना गरेको छ, त्यो कृष्णतत्वमा म पौडीरहेको छु ।
विज्ञानको आरम्भ कल्पनाबाट हुन्छ तर कल्पनाको लागि आवश्यक विषयवस्तुको उपस्थिति हुनैपर्छ ।वेदव्यासले ‘कृष्ण अर्थात् डार्क नै परमतत्व’ हो भनेर घोषणा गरेको पांच हजार वर्ष व्यतीत भइसकेको छ । व्यासले पानी, अन्न, आगो वा पृथ्वीजस्ता तत्वहरूलाई ‘परमतत्व अहं नजाने’ परमतत्व हुन्, त्यसबाहेक केही छैन’ भनेर घोषणा गर्न सक्थे तर उनले ‘कृष्णतत्व बाहेक अरू केही छैन, श्रीकृष्णतत्वमै सबै थोक अन्तर्निहित छ’ भन्ने घोषणा किन गरे ? विश्वको ९५% द्रव्यमान कृष्णतत्वभित्र छ । मैले प्रष्टसंग अनुभव गरिरहेको छु कि आचार्य शङ्करले ‘ब्रह्म बाहेक केही छैन’ भन्दै यही कृष्णतत्वको साक्षत्कार गरिरहेका थिए ।गीतामा त्यही कृष्णतत्व ‘श्रीकृष्ण’का रूपमा अहं बीज प्रद पिता’ अर्थात् म सम्पूर्ण विश्वको पिता हुँ भनिरहेका छन् ।
म कृष्णतत्वकै एउटा अंश हुँ । आज मभित्र कृष्णतत्व प्रकाशित भएको छ । मैले अनादितत्वका रूपमा कृष्णतत्वमा डुबुल्की मारिरहेको छु । त्यहाँ बाणी पुगेर फर्किन्छ, सीमित हुन्छ, मन, बुद्धि, अहङ्कारको अस्तित्व रहन्न भन्ने तत्थ्य मभित्र घटीत भइरहेको छ । मैले, कृष्णतत्व मभित्र प्रकाशित भैरहंदा अनुभव गरें कि कृष्णतत्वमा समय, स्थान तथा दिशाको कुनै प्रभाव पर्न सक्दैन । विहानीका आधा घण्टामा मैले पृथ्वीजस्ता अनन्त गोलाहरूमा भ्रमण गरें । मैले ती गोलाजरी पनि देखें, जहाँ मजस्ता पार्थिवको जीवन सम्भव थिएन । त्यो कृष्ण तत्वभित्र विचरण गरिरंदा मैले सोधें ‘मलाई किन मेरोजस्तै पृथ्वीहरूमा ? उत्तर आयो ‘तेरो जीवनतत्व पृथ्वी बाहेकको अवस्थामा सुरक्षित रहन सक्द्दैन, तैले जीवनका लागि पृथ्वीतत्वमा निर्भर हुनुपर्छ । तेरो पार्थिव अस्तित्वमा तैले जान्न, बुझ्न र बाँच्न सक्ने पृथ्वीतत्व हो । तँ पूर्णतया पार्थिव होस् । मोक्षसंगै तेरा यी बन्धनहरू सधैंका लागि काटिने छन् । तँ कृष्णतत्वको अंश बन्ने छस् । त्यसपछि तेरालागि कुनै सीमाहरू रहने छैनन् । ती शुद्ध हुने छस् । तेरो लागि यो ब्रह्माण्ड, त्यो ब्रह्माण्डका दूरीहरू समाप्त हुनेछन् । कृष्णतत्व यस्तै हुन्छ । तेरो बुद्धि, विवेक, ज्ञान, अनुभूतिहरूले यसको विषयमा भन्न सक्ने छैन । तेरो पार्थिव जीवन रहंदासम्म आजको अनुभूति तेरो आनन्दमय, सुखमय तथा निरपेक्ष जीवनको स्रोत बन्ने छ ।’
यत्तिकैमा विहानको ५ः३५ बजे छ । यो कुनै रहस्यमय, काल्पनिक तथा तन्द्रामा देखिको, बुझिएको काल्पनिक कथा होइन । मैले सहजतापूर्वक कृष्णतत्वको आशिर्वाद स्वीकार गरें । कृष्णतत्वको जन्म हुँदैन, न मृत्युनै हुन्छ । कृष्णतत्वमा प्रवेश गर्दाको आनन्द प्रकट गर्नका लागि, सत्वलाई पस्कनका लागि त्यो चिदआकाशमा घटीत अनुभूति प्रकट गर्नका लागि श्रीकृष्ण जमाष्टमी मनाउने तयारी गर्नुपर्ने छ । एउटा कुरा मलाई विश्वास भयो यदि कृष्णतत्व अवाधित छ, असीमित छ, असीम छ र सम्पूर्ण ब्रह्माण्डहरू यसभित्र निर्माण र विनाश हुँदैछन् भने त्यो कृष्णतत्व ‘मुरली बजाउने कृष्ण बनेर’ गोकुलमा प्रकट हुनैसक्दैन भनेर सीमा तोक्नु विज्ञानको वर्खिलाप हुन्छ ।
–स्वस्तिअस्तु