काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेश अनुसार त्यसमा सघाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
सर्वोच्चको आदेशपछि आइतबार सामाजिक संजालमार्फत भट्टराईले आफूले यसअघि पनि छानबिनमा सघाएको र आगामी दिनमा पनि त्यसमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘ललिता निवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्णरूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ । केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ । मेरो त्यतिबेलाको बयानको बेहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ ।’
भट्टराईले आफेनो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कार्वाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रिपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानबिन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्बाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ। अतः मेरो प्रधानमन्त्रीकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कार्बाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ।’
ललिता निवास प्रकरणमा सर्वोच्चले आइतबार तत्कालीन मन्त्रिपरिषदका सदस्यलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो ।
ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढॅगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम… pic.twitter.com/gTsIJKNrh9
— Baburam Bhattarai (@brb1954) August 6, 2023

प्रतिक्रिया