मन्त्री नियुक्तिको विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र विवाद, विधि र पद्धतिमा पार्टी चल्न नसकेको असन्तुष्ट पक्षको आरोप


सुदूरपश्चिम । सुुदूरपश्चिम प्रदेशमा मन्त्री नियुक्तिको विषयलाई नागरिक उन्मुक्ति पार्टीमा विवाद भएको छ । नागरिक उन्मुक्तिको संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउन गरेको निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको हो ।

पार्टी नेतृत्वबाट मन्त्री बनाउने आश्वासन पाएपछि गत बैशाखमा प्रमुख सचेतकबाट राजीनामा दिएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन्। उनले सामाजिक संजालमार्फत भनेका छन्, ‘यार गद्दार निकला । राजनीतिक पाखण्डवाजको घनघोर भत्र्सना गरौँ ।’

उनले पार्टीमा विधि र पद्धति भन्दा पनि व्यक्तिगत निर्णय हावी भएको बताएका छन् । उनले भनेका छन्, ‘संगठन एजेन्डाले बन्छ, व्यवहारले बिग्रिन्छ। राजनीति गर्छु भन्ने नाममा पाखण्डवाद मौलायो। त्यसको विरोधमा बोलेको हुँ,’ चौधरीले भने, ‘हाम्रो पार्टी, पार्टीको नीति, विधी तथा पद्धतीअनुसार चल्न सकेको छैन। नीतिगत रुपमा मास्ने र अवसरबाट वञ्चित गराउने परिपाटी हाबी भयो।’

चौधरीले पाँच वर्षसम्म जनप्रतिनिधिविहीन भएको टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको बताउदै अहिले टीकापुरलाई पूर्वाग्राही व्यवहार गरिए त्यसको भत्र्सना र विरोध गर्ने बताए।

नागरिक उन्मुक्ति पार्टीले गत बैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी फेरेको थियो। उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो।