विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेश सरकार उद्धव थापाको नेतृत्वमा गठन हुने विश्वास व्यक्त गरेका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले काम चलाउ मुख्यमन्त्रीको रुपमा रहेका थापा संसदीय दलका नेतासमेत भएकाले आगामी सात दिनभित्र उनको नेतृत्वमा गठबन्धन सरकार निर्माण हुने विश्वास व्यक्त गरे ।
कोइरालाले विगतमा आफूले सभामुखले सरकार निर्माणमा हस्ताक्षर गर्नु गलत हो भन्ने कुरा अहिले पुष्टि भएको चर्चा गर्दै लोकतन्त्रवादी पार्टी भएकाले यसले अन्य राजनीतिक दल यससम्बन्धी पाठ सिकाउने बताए ।
उनले महासमितिको बैठकको समयमा नीति अधिवेशन गर्ने जानकारी दिँदै अधिवेशनले पार्टीको आर्थिक नीति, मुलुकमा सुशासन, किसानका समस्या समाधान गर्नेजस्ता निर्णय लिने बताए ।
उनले विदेशबाट सुन स्वदेशमा खपतका लागि नभई तस्करीका लागि आउने गरेकाले यसलाई रोकथाम गर्न र यसबाट मुलुकलाई पर्ने आर्थिक नोक्सानी न्यूनीकरण गर्न संसदीय समितिले निर्णय गर्ने विश्वास व्यक्त गरे । कोइरालाले कांग्रेस वर्तमान गठबन्धन सरकारलाई बलियो बनाउन प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया