नियुक्त भएको सात महिनामै चीनका विदेशमन्त्री काङ पदबाट बर्खास्त


चीनले छिन काङलाई विदेशमन्त्री नियुक्त गरेको सात महिना नपुग्दै पदबाट हटाएको छ एक महिनायता सार्वजनिक स्थानमा नदेखिएका उनलाई चीन सरकारले पदबाट बर्खास्त गरेको हो ।

गत डिसेम्बरमा नियुक्त भएका छिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङको भरपर्दो सहयोगीको रूपमा हेरिएको थियो । गत डिसेम्बर अन्तिममा पद सम्हालेका चिनियाँ विदेशमन्त्री छिन काङलाई पछिल्लो पटकजुन २५ मा सार्वजनिक कार्यक्रममा देखिएको थियो ।

उनको ठाउँ अब कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख वाङ यीले लिनेछन् । ‘चीनको शीर्ष विधायिकाले वाङ यीलाई विदेश मन्त्रीमा नियुक्त गर्ने पक्षमा मतदान गरेको छ,’ सिन्ह्वाले भनेको छ ।

छिनलाई हटाउनको लागि कुनै कारण दिइएको छैन, तर रिपोर्टले राष्ट्रपति सीले उक्त कदमलाई अधिकार दिने आदेशमा हस्ताक्षर गरेको बताएको छ ।

गत डिसेम्बरमा मन्त्री नियुक्त हुँदा उनलाई चिनियाँ राष्ट्रपति सी जिन्पिङका विश्वासिला सहयोगीको रूपमा हेरिएको थियो । उनले जुन महिनामा अमेरकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनसँग भेटेका थिए ।

चीनको कम्युनिस्ट पार्टीको प्रचलनअनुसार चीनको विदेशनीति उच्च तहका अधिकारीले निर्माण गर्छन् र विदेशमन्त्रीलाई त्यसको कार्यान्वयन गर्न निर्देशन दिइन्छ।

एक महिनाअघि छिन आफ्ना सामान्य जिम्मेवारीहरूमा नदेखिँदा र इन्डोनेशियामा एक सम्मेलनमा सहभागी हुन नसक्दा नखुलाइएको स्वास्थ्य समस्या भन्दै एक निकै संक्षिप्त कारण दिइएको थियो।

तर त्यसबारे मन्त्रालयबाट कुनै विस्तृत विवरण नदिइँदा त्यसले अफवाहहरू फैलन सहयोग पुर्याएको थियो। त्यसबेला गरिएका अनुमानमा उनलाई कि त राजनीतिक कारणले वा विवाहोत्तर सम्बन्धका कारण कारबाही गरिएको उल्लेख गरिएका थिए।

चीनको इतिहासमा विदेश मन्त्रीको पदमा नियुक्त हुने उनी कम उमेरका व्यक्तिमध्येमा पर्छन् । दुई वर्षभन्दा कम समय अमेरिकामा चीनको राजदूतका रूपमा काम गरेपछि उनी विदेश मन्त्रीमा नियुक्त भएका थिए।

त्यसअघि उनी विदेश मन्त्रालयका प्रवक्ता थिए । चिनियाँ राष्ट्रपतिका विदेश भ्रमणहरू व्यवस्थापन गर्न सघाएका कारण उनलाई चिनियाँ नेतासँग निकट रहेर काम गर्ने अवसर मिलेको थियो।