बीपीको विश्वासमा रहेका नेता सुटुक्क पंचायत पसेपछि…



जेपी गुप्ता ।

‘बिपीका बारेमा’
आफ्ना केही साथीहरूका साथ परशुनारायण चौधरी ४/५ दिन अघि मात्र पंचायत पस्नु भएको थियो । उहाँले आफ्नो वक्तव्यको शीर्षक ‘अबको नयाँ बाटो’ वा यस्तै केही राख्नु भएको थियो । यसका हस्ताक्षरकर्तामा यस अघि पंचायत पसेका केही मानिसहरू पनि थिए। यसमा बडो नाम चलेका तथा नेपाली काँग्रेसमा ऐतिहासिक भुमिका राख्नु भएका बखानसिंह गुरूङ आदि हुनुहुन्थ्यो। परशुनारायण चौधरीको पंचायततिर पलायनको बडो ठूलो चर्चा थियो। आजको जस्तो सामाजिक संजाल र मिडियाको विशाल संख्या त थिएन। तर, सरकारी संचारमाध्यमहरूले लामो समयसम्म यस समाचारलाई प्रमुखता दिइराखे । पिपलबोटको सर्वाधिक चर्चाको बिषय नै यही थियो। हामी सबै चकमन्न थियौं, ठूला र नाम चलेका युवा नेताहरू बिपिन कोइराला, मार्शल जुलुम शाक्य, शिवबहादुर खड्काहरूको पंचायत पस्ने चर्चा पनि थियो । पंचहरूले यस्तो प्रवेशलाई हौस्याई रहेका थिए।

जनमत संग्रह ताकाको प्रचारका क्रममा काठमाडौंको टुँडिखेलको आमसभामा बी.पी. कोइरालाले मुलुकमा बहुदल आए परशुनारायण नेपालको प्रधानमन्त्री हुने भन्नु भएको थियो। त्यस सभाको मञ्चमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पनि रहनु भएको थियो । अप्रत्याशित रूपमा बीपीको यो भनाई सुनेर कालो चश्मा लाउनु भएका गणेशमानजी मुसुक्क हाँसेको र किसुनजी मञ्चको सिमेन्टे भूइँमा छाताको डण्डी थिचेको मैले प्रष्ट देखेको थिएँ । यो बिषय उहाँहरूका बीचमा सुविचारित थियो वा थिएन मलाई पछिसम्म जानकारी भएन। यद्यपि बीपीको ठूलो विश्वास परशुनारायणका लागि मुखरित भएको थियो । बीपीको विश्वासमा रहेका यस्तो मानिस सुटुक्क पंचायत पसेको अवस्था थियो । यसर्थ बीपीको रोजाईका वारेमा पनि प्रश्न उठेको थियो । मार्शल जुलुम शाक्यका बारेमा गणेशमानजीले भन्नु भएको थियो–’उनी १७ वर्ष जेल बसे । पंचायतमा प्रवेश गरे सबै योगदान १७ मिनेट मै समाप्त हुनेछ।’ मार्शल झस्कनु भएको खबर थियो।

परशुजीको पलायनका सम्बन्धमा बीपीको प्रतिकृया पनि जोशिलो र आलोचनात्मक थिएन । ‘नेपाली जनताले जुन कारणले परशुनारायण चौधरीलाई माया गरेका थिए, सो कारण अब रहेन ।’ यति थियो बीपीको प्रतिकृया । बीबीसीका केदारमान सिंहलाई बीपीले यति मात्र भन्नु भयो। एमालेबाट वामदेव निस्किदां ‘पिलो निचोरियो’ भनेर उ बेला केपी ओलीले भनेको, आज पनि केपीले माधव नेपालहरूलाई आलोचना गरेझै, उपेन्द्रले बाबुराम भट्टराईका बारेमा बैगुनी कुरा गरेको या शेरबहादुर देउवाजीले शेखर कोइराला तथा गगन थापाहरूको वजूदलाई इन्कार गरी शेखी झार्न तम्सेको भाषा प्रयोग गर्ने त्यो जमाना थिएन । काँग्रेस भित्र भ्रमको जालो फैलाउन र बीपीलाई चालबाज देखाउन रमेशनाथ पाण्डेले त भित्र भित्र पंचायतसँग कुरा मिलाएर बीपीले परशुलाई पठाएका हुन कि ? यस्तो आशंका गर्दै लेखेका थिए। जुन पटक्कै सत्य थिएन। तर, गम्भीर चर्चा के थियो भने बीपीको चयन प्रायसः गलत हुने गरेको छ। बीपीले सारै पत्यार गरेका मानिसहरू बीपीलाई नै फाप्दैन ।

डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वर प्र. सिंह, बखान सिंह गुरूङ, सूर्य प्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतुलाल चौधरी लगायत केही पछिका पुस्तामा प्रदीप गिरी तथा दुर्गा सुवेदी–यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीका बडो नजिक रहेका थिए । प्रदीप गिरी कहिले पंचायत पस्नु भएन, तर विस ०३०/३१ पछिको अवधिमा बीपीका सोचहरूको कटु आलोचना पनि गर्नु हुन्थ्यो र त्यही शैलीमा अत्यन्त ठूलो प्रशंसा पनि । जबकी हवाई अपहरणको काममा बीपीले पत्याएका दुर्गा सुवेदी धुरन्धरै धुन्धकारी देखिएका थिए। यस्ता अनेकन प्रेम र धोकाको अध्यायमा मानिसहरूका बीच कुराकानी हुन्थ्यो कि, सहकर्मीको रोजाईमा बीपीमा बढी त्रुटी छ, यस्तो चर्चा खुब हुने गर्थ्यो ।
बीपी सन् १९७७ नोभेम्बरमा उपचार गराई अमेरिकाबाट फर्किनु हुँदा परशुनारायण र गिरिजाबाबु दुबै जनालाई पटना–काठमांडौंको हवाई जहाजमै उहांले प्रतिबन्धित नेपाली कांग्रेसको महामन्त्री बनाउनु भएको थियो । राष्ट्रिय मेलमिलापको नीतिका साथ लामो भारत प्रवासपछि बि.स. २०३३ मा बीपी र उहाँका साथ गणेशमान सिंह, निलाम्बर पंथी, शैलजा आचार्य, खुमबहादुर खड्काहरू काठमाडौं हवाई अड्डाबाटै गिरफ्तार गरिनु भएको थियो। केही समयपछि बीपीको स्वास्थ्य निकै बिग्रिएपछि राजा वीरेन्द्रले उपचारका लागि अमेरिका जान पेरोलमा रिहा गर्ने सदाशयता देखाउनु भएको थियो ।

उपचार पश्चात बीपी पटना हुँदै नेपाल फर्किनु भयो र पुनः थुनामा राखिनु भयो । यसअघि पटनामा नेपाली काँग्रेसको सम्मेलन भएको थियो, जहाँ बीपीले किसुनजीलाई पार्टीको कार्यवाहक सभापति बनाउनु भयो । यो मेरो सौभाग्य थियो कि म एकदमै कम उमेरमा सप्तरीबाट त्यस सम्मेलनमा सहभागी भएको थिएँ । अ, यही बेला बीपीले शानेवानिको विमानमै बसी परशुजी र गिरिजाबाबु महामन्त्री नियुक्त गरिएको एक सानो विज्ञप्ति कुनै सहयात्रीलाई दिनुभयो, जो पछि सबैले थाहा पाए । यो एक छुट्टै रोचक ऐतिहासिक प्रसंग हो । यसरी एकै पटक दुईजना महामन्त्री भएको शायद गिरिजाबाबुलाई त्यतिसारो मन परेको थिएन क्यार !

त्यस साँझ चावहिल मित्रपार्कको बीपी निवासमा शेख इद्रिस पनि हुनुहुन्थ्यो । परशुजीको पलायनपछि शेख साहेबले बीपीका प्रति दरो भरोसा जनाउनु भएको थियो । बीपीले विशेष नेताहरूलाई भोजनमा बोलाउनु भएको थियो। खानाको अन्त्यमा बीपीले रूचिपूर्वक खीर खाँदै गर्दा चक्रजी, चक्र बास्तोलाले कुरा उठाइहाल्नु भो । यो कुरा फेरि गिरिजाबाबुको पनि रूचिको कुरा भएको थियो । त्यसैले बीपीले यसको जवाफ नपन्छाउनुहोस् भनेर गिरिजाबाबुले चक्रजी तिर उन्मुख हुँदै जिज्ञासा गर्नुभो; के भन्नु भो अरे चक्र जी ? बीपी, गिरिजाबाबु, सुशील दा, शेख इद्रिस, भीमबहादुर तामाङ, वीरेन्द्र दाहाल, लक्ष्मण बस्नेत, विरू लामा र म पनि; हामी सबै चक्रजीका प्रति उन्मुख भयौं । चक्रजी बीपीसँग सदैव निर्भिक रहनु हुन्थ्यो । गिरिजाबाबु सदैब थिचिएको ! चक्रजीले भन्नु भयो; हैन सान्दाजु, परशुनारायणलाई त तपाईले निकै पत्याउनु भएको थियो । उनले धोका दिए । तपाईलाई शंका थिएन ? के पहिले देखिनै उनि प्रति तपाईको विश्वास अडिग थियो र ?

बीपीले चक्र जीलाई भन्दापनि गिरिजा बाबु तर्फ उन्मुख भई सोध्नु भयो–गिरिजा कुनै पनि सहयोगीसँग तिम्रो सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ? गिरिजाबाबुले संकोचका साथ भन्नु भयो–म त लामो समयसम्म मानिसको परख गर्छु । शुरूमा त शंका गरिरहन्छु । परफेक्ट देखिएपछि मात्र विश्वास गर्छु । बीपीले सोध्नु भयो–ओखलढुंगा काण्डमा के भयो ? के कारणले नख्खुबाट झिकिएर लिला, ठगीहरू मारिए ? दुर्गा सुवेदीहरू किन तिमीसँग रहेनन् ?

बीपीले थप्नु भयोः सोच्दै गर्नु । म त विश्वासलाई नै आधार मान्दछु । पत्यार, अपत्यार, विश्वास र अविश्वास, भरोसा र धोका चिरन्तर र चिरस्थायी कहाँ हुन्छ र ? यो सर्वकालिक हुँदैन । मानिसको सोचलाई तत्कालिक परिस्थितिले निर्धारित गर्दछ । तत्कालिक परिस्थितिलाई भने उसको बाध्यता, प्रतिकूलतालाई ब्यहोर्ने क्षमता, लोभ र निःस्पृहताले निर्धारित गर्दछ । यसर्थ, कोहीसँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन । सबैले विस्तारै दुधको खीर सकेका थिए । मन मिठो भएको थियो । तर, यस सम्वादले भने सबैलाई, खासगरी बीपी वाहेक हामी सबैलाई उद्वेलित पारेको थियो ।

म त्यसबेला चावहिलको बीपी निवासमै बस्थे। मेरो उ बेलाको उमेर नेताको कुरामा प्रश्न उठाउने थिएन । तर, बीपीले जे जवाफ दिनुभयो; मेरो लागि आज पनि प्रश्न रहित नै छ ! हो त, कोही सँगको सम्बन्ध भने शुरूका दिनको विश्वास वा आशंकाको आधारमा सदैव निर्धारित भै रहँदैन । को कहाँ रहन्छ, कोही कहाँ पुग्छ । तर, ज्ञान र इमानदारिता भने सर्वकालिक नै हुन्छ । आज नेपालको राजनीति अलिक बढी घात, प्रतिघात, प्रेम र धोकामा फसेको छ। हुनत नेपाल मात्र हैन–सबै तिर यही अवस्था छ। बडेमानका विश्वासीहरूले नेताहरूलाई चटक्क छोडेर तम्बु फेरेको देखिन्छ। कसले यस प्रश्नको अकाट्य जवाफ दिएका छन् कि नेताका कुनै पनि सहयोगीसँग त्यस नेताको सम्बन्ध विश्वासबाट शुरू हुन्छ कि आशंकाबाट ?

बीपीको आदर्श त मेरो मनमा छ। तर, मैले पनि मलाई पहिचान दिएको नेपाली काँग्रेसलाई छोडे, अझ गिरिजा बाबुलाई छोडे। म स्वयं संग पनि यसको जवाफ छैन कि “ म विश्वास योग्य थिए कि नेताले मलाई पत्याएको बखत उनि धोकामा परे, म आशंका योग्य थिए।” जे होस्, यो मेरो इमान्दार स्वीकारोक्ति हो कि “साथ रहुन्जेल,पुरै ईमान्दार थिए,भरोसा योग्य थिए।”
आज बीपीलाई संझिँदैछु । थोरै भेटे तर भरपुर सम्झना छ । आज साउन ६ गते हो। केही थोरै काल उहाँको वरिपरिमा बित्यो । त्यसमा गर्व पनि अनुभव गर्दछु ।
अब थोरै नेपाली काँग्रेसका बारेमा..
सधैं छलफल तथा विमर्शमा हुर्केको नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक एक बर्षको अन्तरालमा बसेको छ। एक समय म पनि केन्द्रीय सदस्य थिएँ, प्रचार विभागको प्रमुख पनि। मुखपत्र ‘नेपाल पुकार’ को सम्पादनमा पनि सहभागी थिएँ । अहिले काँग्रेसको केन्द्रीय सदस्यको बैठक प्रविधिको विकाससंगै ‘भर्चअल’ माध्यमबाट सार्वजनिक छ। अनलाईन छ। यसो गरिँदा सदस्यहरूमी छलफलको गंभीरता बढने हुन् कि सडक लोकप्रियताको ‘धतुरो’ चढ्ने हुन थाहा छैन। तर, सामाजिक संजाल आदिमा त धेरैले राम्रो नै मानेको देखिन्छ।

केही अघि एमालेका अध्यक्ष केपी ओलीले अहिलेको नेपाली काँग्रेसलाई झाडीमा फसेको बारहसिंघे भन्नु भएको थियो । मैले नि त्यहाँ ३५ बर्षबढी समय बिताए । आज टाढाबाट नियाल्दै छु । बेला बेलामा सोच्दछु के भएको होला काँग्रेसलाई ? ओली महोदयको बारहसिंघे उपमा बडो चित्त बुझ्यो । यो उपमा दिंदा ओली जीको आफ्नो कुनै प्रयोजन होला, मलाई त ‘झाडीमा फसेको बारहसिंघे’ यो पदावली मात्र मन पर्यो ।
सात दशकदेखि समुद्री आँधीमा फसेको जहाज जस्तो यो काँग्रेसलाई हेर्दा धेरैलाई, धेरै पटक डुब्यो डुब्यो लाग्या होला । तर, एउटा अजस्र शक्तिले यसलाई पार लगाउँदै ल्याएको छ । के त्यो शक्ति आज जाग्रत छ र ? म सोच्दै निदाउँथे, ब्यूँझन्थे । अर्ध चेतनामा मैले खेलेको काँग्रेसका खेतबारी, कान्लाहरूमा हिडेडुलेका बेलाका केही पुराना नयाँ सम्झनाहरूको तरेली बिहान टिप्दै गए ।

संसदको निर्वाचनमा पराजित भएकालाई उच्च राजनीतिक तहमा नियुक्ति नगर्ने गणेशमान सिंहजी सँगको सहमति विपरित गिरिजाप्रसाद कोइरालाले रामशरण महतलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभयो । यसपछि गणेशमानजीको चाहना अनुसार दुर्गेशमान सिंहलाई भारतको राजदूतमा नियुक्ति गरिएन । यसको दुःखद परिणाम अतुलनीय विनाशकारी रह्यो । सरकारको नीति तथा कार्यक्रम उपरको मतदानमा आफ्नै पार्टीका ३६ जना सांसद अनुपस्थित भएर गिरिजाप्रसाद कोइरालाको सरकारलाई नैतिक संकटमा पारियो । पार्टी भित्र सल्लाह नगरी प्र.म. कोइरालाले चार जना नेतालाई मन्त्री पदबाट हटाएको प्रतिशोध थियो त्यो । फलतः तत्कालिन संसद विघटनको सिफारिश भयो । भनिन्छ, यो काँग्रेसको अवनीतिको ओरालो थियो । आज धेरैले संसद विघटनमा गिरिजाप्रसाद कोइरालालाई दोष दिन्छन्। तर, यसको चर्चा हुन्न कि आफ्नै सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई ३६ जना सांसदहरू अनुपस्थित रहेक किन असफल पारे ? यसर्थ, संसदीय अभ्यासमा यसको परिणामलाई किन अवनीतिको स्वभाविक बाटो न मान्ने ?

कृषिमन्त्री शैलजा आचार्यले संसदमा मन्त्रालय भित्र भ्रष्टाचारको जालो छ, पन्छाउनै गार्हो भयो भन्नु भएको थियो । संसदमा एमालेले रडाको मच्चाए । झलनाथ खनाल कृष्ण प्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारको कृषिमन्त्री थिए। बहुदलीय व्यवस्था पुनर्स्थापन पछि मल आयातमा पहिलो भ्रष्टाचारको कुरा तेहीबेला उठ्यो। यसको केही पछि सिपी मैनाली आपूर्ति मन्त्री भएको बेला भारत सरकारले कोटामा चिनीको आयातका लागि दिएको अनुमति शंकरलाल केडियालाई दिइयो। भ्रष्टाचारको यो दोस्रो ठूलो बिषय थियो। शायद सिपीले राजीनामा नै दिनुपर्यो। संयोगले राजाको शासन पछि आएको बहुदलमा जन्मेको पहिलो र दोस्रो दुबै भ्रष्टाचारको बिषय एमाले पार्टीसँगै सम्बन्धित थियो। यसपछि संसदमा शैलजाले बोल्नु भयो। एउटै सरकारका सहयात्री र उही सरकारको गृहमन्त्री रहेका शेरबहादुर, चिरञ्जिवी वाग्लेहरू शैलजाकाबिरूद्ध एमालेलाई हौस्याए । अपमानित पारिएर शैलजाले मन्त्री पदबाट राजीनामा दिनुपर्यो । काँडा झिकियो भनेर काँग्रेसमा एक थरीको हर्ष बढाई भयो । काँग्रेस चुकेको थाहै भएन । प्रम कोइरालाको सिफारिशमा संसद विघटन गरिएपछि काँग्रेसमा देखापर्ने गरी चिरा पर्यो। नेपाली कांग्रेसका वरिष्ठ नेता महेन्द्र नारायण निधी समेतले गिरिजा कोइरालालाई प्र.म.बाट बर्खास्त गर्न राजदरबारमा बिन्ती चढाउनु भो । राजालाई संविधानमा व्यवस्था नै नभएको हस्तक्षेपका लागि अपील गरियो । यसपछि संसदीय इतिहासका पहिलो सभामुख देवतुल्य कृष्ण प्रसाद भट्टराईको संसदीय पद्धति प्रतिको निष्ठा र संवैधानिक राजतन्त्रको समझमा प्रश्न खडा भयो ।

राजा वीरेन्द्रले सरकारको सहमति बिना नै तत्कालिन राष्ट्रिय सभामा १० जनालाई मनोनित गरेका थिए । नेपाली कांग्रेसले यसको विरोध गरेको थियो । गणेशमान जी,कृष्ण प्रसाद भट्टराई र गिरिजाबाबु सबैले राजाको यस कदमलाई संवैधानिक राजतन्त्रको पद्धतिको विपरित काम भन्नु भएको थियो । अब गिरिजाप्रसाद कोइरालालाई संविधानमा कही व्यवस्था नै नभएको पदमुक्त गरिनु पर्ने उक्त अपीलबाट नेपाली काँग्रेसकै संवैधानिक राजतन्त्रको समझमा गंभीर फरक पर्यो; राजाले खेल्ने मौका पाए । संसदीय दलमा शेरबहादुरजीको नाममा बहुमत नहुँदा नहुँदै गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउनुभयो । उ बखत प्र.म. पदको स्वभाविक हकदार रहनुभएकी शैलजा आचार्य वा संख्यात्मक बहुमतमा रहेका खुमबहादुर खडका गिरिजा बाबुसँगको प्रेमको पासोमा रहेरै पंछ्याईए । शेरबहादुरजी प्र.म. हुनुभयो । कालान्तरमा उनै शेर हादुरसँगको प्रतिस्पर्धामा गिरिजाबाबु संसदीय दलको नेता पद परित्याग गर्नुपर्यो । सुशील कोइरालालाई संसदीय दलको नेतामा समर्थन गर्नु भयो र अपरिजेय कोइराला स्वंय पराजित हुनुभयो । राजा ज्ञानेन्द्रद्वारा पासोमा पारिएका आफ्नै पार्टीका प्र.म. शेरबहादुरजीलाई गिरिजाबाबुले प्रतिरक्षा गर्नु भएन । संकटकाल घोषणाको प्र.म. देउवाको निर्णयलाई पार्टी सभापति कोइरालाले केन्द्रीय समितिको बैठकमा असफल गराउनु भयो । फलतः देउवाबाट संसद विघटनको परिणाम आयो । कुनै समय गिरिजाबाबुले गर्नु भएको संसद विघटनको सिफारिशलाई अक्षम्य अपराध देख्ने देउवा स्वयंले संसद विघटनको सिफारिश गरेको प्रतिरक्षा गर्न कत्ति कठिनाई सहनु परेको थियो होला !

देउवा सरकारका मन्त्री रहेका जयप्रकाश गुप्ताले नेपाली सेना राजनीतिमा दख्खल दिँदैछ भन्ने वक्तव्य दिएका थिए । एमाले, बिजुक्छे लगायतले संसदमा हंगामा खडा गरे । उनीहरू, गुप्ताले राजीनामा नदिई नहुने अड्डी लिए । सरकारको प्रवक्ताको रूपमा जयप्रकाश गुप्ताले भनेका कुराहरूलाई गिरिजाबाबुले पार्टी नीति विपरित ठान्नु भयो । पार्टीले गुप्तालाई मन्त्री पदबाट राजीनामा दिन भन्यो । देउवा मन्त्रीमण्डलले गुप्ताको प्रतिरक्षा गर्यो र आमोद उपाध्याय र महेश आचार्य समेतको मन्त्री मण्डलको बैठकले सर्वसम्मतिबाट गुप्ताले राजीनामा दिन नपर्ने ठहर गरी वक्तव्य निकाल्यो । तर, गिरिजाबाबुले मान्नु भएन । मन्त्री गुप्तालाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरियो । यही बिवादमा आमोद उपाध्याय र नहेश आचार्यले मन्त्री पदबाट राजीनामा दिनुभयो। यद्यपि, देउवाले जेपी गुप्तालाई मन्त्री पदबाट हटाउन मान्नु भएन । कुनै समय संसदमा प्रतिपक्षी एमालेले मन्त्री शैलजाको राजीनामा माग्दा आफ्नो पार्टीका सदस्यहरूले पार्टीका मन्त्रीको  प्रतिरक्षा गर्नुपर्ने अडान लिनु भएका गिरिजाबाबु आफ्नै पार्टीका मन्त्री जयप्रकाश गुप्तालाई एमालेको शहमा पार्टीबाटै निकाल्नु भयो ।

नेपाली कांग्रेस भित्र अत्यधिक शक्तिशाली रहनु भएका प्र.म.गिरिजाबाबुका विरूद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिने सहास चिरञ्जिवी वाग्लेले गर्नु भयो । गुटको तर्फबाट यो पहिलो संस्थागत प्रयास थियो, जस्मा गणेशमानजी र किसुन जी को खुला आशिर्वाद थियो । यिनै चिरंजीवि वाग्लेले सृजना गर्नु भएको गुट शेर बहादुर जीको नेतृत्वमा स्थानान्तर भयो र सोही पृष्ठभूमीमा आज देउवा जीको हालीमुहाली अविच्छिन्न छ । पछि यिनै चिरंजीवि जी सबभन्दा पहिला कांग्रेसलाई जनस्तरमा बदनाम पार्ने शाही डिजाइनको पात्रमा चुनिनु भयो । राजाले भनेपछि देउवाजी हामी धेरैका सामुन्ने मन्त्री पदबाट वाग्लेजीको राजीनामा माग्नु भयो । “वाग्ले जी, आइदर यू सम्मिट रेजिनेशन आर प्रिपियर्ड फोर जेल“ बैठकमा देउवा जीले राजाको ईच्छा, तत्कालिन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको तयारी आदि सम्झाउँदै पद त्याग गर्न वाग्ले लगायत हामीलाई गरेको अनुरोध हामी मुर्खहरूले बुझेनौ । अड्डी कस्यौं र पालैपालो भ्रष्टाचारमा फसाईएर जेल गयौं, समाप्त भयौ, मर्यौ ।जबकी देउवाजी शाही भ्रष्टाचार आयोग आदिलाई छिचोल्दै वटबृÞक्ष झै झांगिनु भएको छ । आरजु देउवा गम्भीर आरोपमा रहेर पनि निश्चित छिन।

प्र.म. शेर बहादुर देउवाले माओवादीसंग शान्ति वार्ता थाल्नु भएको थियो । एमाले पनि भित्री रूपमा माओवादीसँग वार्ता थालेको थियो । यस वार्तामा गिरिजाबाबुले प्र.म. देउवालाई बल दिनु भएन । सहयोग गर्नु भएन । हंगकंगबाट सोझै दिल्ली पुगेका गिरिजाबाबुले आफू प्र.म. बनेमा माओवादीसँग शान्ति वार्ता टुंग्याउने भनेर सहमति गर्नुभयो । कांग्रेसको फुटलाई दरिलो बनाउन एमालेले कोइरालालाई साथ दिएर काँग्रेसी चिरालाई फाटोमा रूपान्तरित गरें । शेरबहादुर प्र.म. रहनु भएन । दिल्ली सहमति पछि शान्ति वार्ता भै माओवादी सतहमा आयो, राजा र राजतन्त्र सकियो । गिरिजाबाबुले भने आफूलाई इतिहासमा अमर बनाउनु भयो ।

चिरंजीवि वाग्ले र खुमबहादुर खड्कालाई भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले जेल हुलेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले यसबारे सर्वोच्च अदालतमा पुनरावलोकन गरिने ठहर गर्यो । मधुर र अदालतमैत्री भाषामा पार्टीले सो आशयको एक वक्तव्य निकाल्यो । देउवाजीहरूले यसको कडा प्रतिवाद गर्नुभयो । रडाको मच्चाउनु भयो । कांग्रेस आफ्नो परम्पराको विपरित अदालतको खिलाफमा जाननहुने जिकीर लिनु भयो । फलतः नेपाली कांग्रेसले आफ्नो वक्तव्य फिर्ता लियो । अदालतको सम्मान गरेको भन्यो । आज यस्तै बिवादले काँग्रेसलाई घेरेको छ। देउवाका प्रिय पात्र बालकृष्ण खाँण जेलमा छन्। गगन थापाहरू खाँणलाई काँग्रेसको केन्द्रीय सदस्यबाट निलम्बन गरिनु पर्ने मांग गरिरहेका छन्। देउवा पटक्कै तयार छैनन् ।

केन्द्रीय समितिमा यस बारे भैरहेको बहस दुनियाले हेरिरहेको छ। थाहा छैन, खाँडहरूका बारेमा काँग्रेसले के निर्णय लिन्छ। तर ८/१० बर्ष पहिले नेपाली कांग्रेसले अत्यन्त दुःखमा रहेका आफन्तहरू चिरंजीवि वाग्ले र खुमबहादुर खड्काको घाउँमा मलम लगाउन चाहेन । तर, ती प्रहरी खाँणहरू भाग्यमानी हुन् जसका लागि आज नेपाली कांग्रेस चट्टानी अडान लिएको छ ।

भ्रष्टाचारको मुद्दामा २ वर्षसम्म वा यस भन्दा कम कैद सजायँ पाएको व्यक्तिलाई कैद भुक्तान भएको मितिबाट ६ वर्षसम्म निर्वाचनमा भाग लिन बन्देज रहने प्रावधान अनेकन प्रजातांत्रिक मुलुकहरूमा छ । भारतमा, इटालीमा कयौं मुलुकमा छ । तर, नेपालमा यस्ता व्यक्ति आजीवन निर्वाचन लडन नपाउने व्यवस्था भयो । निर्वाचन कानूनको मस्यौदा गरी पठाउँदा निर्वाचन आयोगले त्यस्ता व्यक्तिको हकमा ६ वर्षसम्म बन्देज रहने प्रावधान नै मस्यौदा गरी तालुकवाला मंत्रालय, गृह मन्त्रालयमा पठाएको थियो । त्यसबेलाका गृहमन्त्री बिमलेन्द्र निधीले यस प्रावधानलाई बदल्नु भयो र २ वा २ बर्ष भन्दा कम अवधि जेल सजाय भोगेको मानिस समेत निर्वाचनमा भाग लिनबाट आजीवन अयोग्य रहनु पर्ने व्यवस्था भयो । यो गुह्य कुरो सबैले जानेका छन् कि, नेपाली कांग्रेस भित्र खुमबहादुर खड्कालाई पंछाउन यसो गरिएको हो । उहाँलाई कांग्रेसको उपाध्यक्ष नदिनका लागि यत्रो उपक्रम रचियो । एउटा सानो स्वार्थका लागि काँग्रेसले सर्वकालिक सोच बनाउन सकेन । जबकि उही काँग्रेस सम्मिलित सरकारले जस्तो सुकै अपराध गरेपनि राजनीतिक मुद्दाको नाममा सो मुद्दा फिर्ता लिन सकिने गरी मुलुकी ऐनमा संशोधन प्रस्ताव संसदमा पेश गरेको। शायद, हामी १/२ जना राजनीतिका लागि जीवन भर अयोग्य रहने छौ जबकि आफताव आलमहरू जेलबाट छुटेर राजनीति गर्न पाउने छन्।

केही वर्ष अघि २ लाख ५० हजार पनि सकृय सदस्य नरहेको नेपाली कांग्रेस २०५ सीटको संसदमा ११५ सांसद पठाएको थियो। हाल काँग्रेसले ८ लाख सदस्यताको दाबी गर्दा समानुपातिक समेत २७५ को संसदमा नेकाको ८८ जना छ । अझ सन् २४ मा काँग्रेसले १० लाख सकृय सदस्य बनाउने लक्ष्य लिएको छ। यसरी काँग्रेस माथी उक्लिदाँ यस पार्टीको कति सांसद पुग्ने हो संसदमा ?
पार्टीमा देउवाको कडा तथा बलियो पकड छ। जबकी यस बारे चर्चा छैन कि–पार्टीको प्रभावकारिता नेताको दरो पकडबाटै हुन्छ र ? सोच्दछु, इतिहासमा न चुकेको काँग्रेस, कहिल्यै नझुकेको काँग्रेस आज कहाँ पुग्दैछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ