सेनाको संख्या घटाउने होइन, प्रतिनिधिसभा सदस्यको संख्या घटाउनुपर्छः वामदेव गौतम


काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले खर्च कटौतीका अन्य विकल्प भएकाले नेपाली सेनाको संख्या घटाउन नहुने बताएका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा गौतमले नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने बताएका हुन् ।

उनले सेनाको संख्या घटाउने साटो प्रतिनिधिसभा र राष्ट्रिसभाका सदस्यको संख्या घटाउन सुझाव दिए । उनले भने,‘प्रतिनिधिसभा २६५ सदस्यीय किन चाहियो ? घटाएर २०३ बनाउनुस् वा १६५ को बनाए पनि हुन्छ । अनि राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिकारमा के फरक छ ? यो व्यवस्थाले मुलुक बन्दैन ।’

उनले नेपाली सेनाको अपमान हुनेगरी बहस र छलफल नगर्नसमेत आग्रह गरे । बेलायतले भारतलाई उपनिवेश बनाएको तर नेपाली सेनाका कारण बेलायती सेना नेपालसँग पराजित भएको दृष्टान्त प्रस्तुत गर्दै गौतमले सेनाको संख्या घटाउनुको साटो बढाउनुपने बताए ।

उनले नेपाली सेनाकै कारण नेपाल स्वतन्त्र र स्वाभिमान राष्ट्रको रुपमा विश्वमा चिनिएको बताए । उनले अब सेनाको संख्या थपेर उसलाई देश निर्माण तथा औद्योगिक र कृषि क्षेत्रको विकासमा लगाउनुपर्ने बताए ।

उनले भने, ‘अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस् । सेनाले पाँच वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन, विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौँ ।’