स्वस्ति ६ श्री भानुभक्त बाजे !
डा. गोविन्दशरण उपाध्याय ।
आगे तपाईं जिउँदो भए आज २१० को बूढो हुनुहुन्थ्यो । यस्तो पितृसंग संवाद गर्दा निकै रमाइलो हुने थियो । तर तपाईं मूर्तिका रुपमा, रामायणका रूपमा, बधुशिक्षाका रुपमा हुनुहुन्छ । केहीले तपाईंको खेदो खन्छन् । केहीले तपाईंको बचाऊ गर्छन् । म चाहिं तपाईंलाई माया गर्छु । आज तपाईंले रामायणमा लेखेको भाषा पनि २१० वर्ष बूढो भयो भन्ने मेरो मान्यता हो । स्वर्गमा भए पनि तलका तीनोटा नेपाली पढ्नुस् ल !!
(१) संस्कृतका विद्वानहरूको नेपाली यसरी बोल्छन् र लेख्छन्
‘पौरस्त्य दार्शनिक तथा नैतिक मूल्यहरूको अवमूल्यन हुँदा सम्पूर्ण नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवन पद्धतिमा कुठाराघात हुँदैछ । आंग्लभाषाप्रतिको तीब्रतर मोह र स्वेकीय भाषाप्रति हीनताबोधले नेपाली भाषा क्षयमा प्राप्त हुँदैन । आज भानुभक्त जयन्तिको शताधिक जयन्तिका सुअवसरले समग्र नेपालीय समाज र नेपाली भाषिकालाई दैनन्दिनीमा प्रयोग गर्नेहरूमा विशिष्ट शक्तिपात हुने छ ।’
(२) नेपाली जरो भएका विद्वान्हरूले यसरी बोल्छन् र लेख्छन् –
‘पूर्वीय दार्शनिक तथा नैतिक मूल्यहरू घट्दै जाँदा नेपाल र नेपालीको सामाजिक. सांस्कृतिक, धार्मिक तथा व्याबहारिक जीवनमा असजिलो हुँदैछ । अंग्रेजी भाषाको मोहले नेपाली भाषा कमजोर हुँदैछ । आज भानुभक्त जयन्ति मनाउंदै गर्दा सम्पूर्ण नेपालीभाषिले आफ्नो भाषाप्रति पुनर्ताजगी प्राप्त गर्ने छन् ।’
(३) अंग्रेजी माध्यमबाट पढेका संचारकर्मीहरूले एफएम, टेलिभिजन, फेसबुकआदिमा यसरी बोल्छन् र लेख्छन्-
‘इस्टर्न फिलोसफी र मोरल भ्यालु दिक्लाइनले प्रेक्तिकल लाइफलाई प्रोब्लेमेटिक बनाउंदै छ । इन्गलिश ल्यांग्वेजको फास्ट ग्रोथले नेपाली ल्याङ्ग्वेजलाई च्यालेन्ज गर्दैछ । आज पोइट भानुभक्तको युभिभरसरी सेलेब्रेशनबाट हाम्रो न्यु जनेरेशनलाई नेपाली ल्याङ्ग्वेजको इम्पोरटेन्स बुझ्न सहयोग गर्ने छ । केटाकेटीले कुरा बुझ्ने छ ।मलाई त झन् संस्कृत, नेपाली वा अंग्रेजी आउन्न । मैले नेपाली बोल्छु तर मैले विश्वविद्यालयमा पढ्या होइन । हाम्रोतिरका मान्छेले तेसरी बोल्न जान्या छैनन् । मलाई उपल्लो नेपाली आउन्नन्, क्यारूँ ? बिजोक भयो । ठ्याकै नहोला तर आजभोलीको नेपाली उपल्लो झैं छ ।’