गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमणमा


काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका छन् । गृहमन्त्री श्रेष्ठ मंगलबार राति ११ः२० बजे पाँचदिने भ्रमणको लागि चीनको सिचुवान प्रस्थान गरेका हुन् ।

उनले बुधबार छेन्दुमा आयोजित ’पश्चिमी चीनियाँ अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहमा विशेष अतिथिको रुपमा सरिक भएर सम्बोधन गर्ने विशेष कार्यक्रम रहेको छ।

भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा भेटघाट तथा अवलोकन सहित त्यहाँ अध्ययनरत करिब ३०० अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी उनले भुकम्पपछिको पुनर्निर्माण भएको यिङसिउ भुकम्पस्थल र जिपिङ्पुस्थित ’हाइड्रो जक्सन’को तथा दुजियाङ्गानस्थित सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थान परियोजनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल छन् ।