काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सीताविना भारत अपूर्ण र रामविना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा स्थापित गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मंगलबार बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल रामविना र भारत सीताविना अधुरो हुने बताएका हुन् । नेपाल भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन एकअर्कालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, भारतीय उपमहादीपबाट प्रारम्भ भएको योग सिन्धुघाँटी सभ्यतासँग जोडिएको र योग आज विश्वव्यापी लोकप्रिय हुँदै गएको बताए । उनले भने, ‘महर्षी पतन्जलीले वैज्ञानिक रुपमा सूत्रबद्ध गरेपनि योग सुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेको छ गौतम बुद्धको नाम पनि अग्रपंक्तिमा आउँछ । योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र होइन मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञानसँग जोड्छ ।’
उनले हवाई रुट र भैरहवा विमानस्थलमा आइएलएस संचालनको निम्ति भारत सरकार सकारात्मक रहेको बताए । उनले भने, ‘हालै भएको सम्माननीय प्रधानमन्त्रीको भारत भ्रमणले त्यसलाई नयाँ उचाईमा पुनर्स्थापित गरेको छ अब हामी दुई राष्ट्र बीच आर्थिक सम्बन्ध प्रधान हुंदै गएको छ । हवाई रुट र भैरहवा विमानस्थलमा आइएलएस संचालनको निम्ति भारत सरकार सकारात्मक छ जसले राष्ट्र राष्ट्र बीच मात्र होइन बरु जनता जनताबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास छ ।’

प्रतिक्रिया