काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले समाजवादी मोर्चा एडल्ट क्लब भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमार्फत सचिव भट्टराईले मोर्चा भविष्य नभएको एडल्डहरुको क्लब भएको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्,’नेत्रविक्रम चन्द नेतृत्वको माओवादीदेखि उपेन्द्र यादव नेतृत्वको जसपा अनि बीचमा प्रचण्ड र माधव नेपाल । नाम समाजवादी मोर्चा ! समाजवादमा पुग्ने क्रान्तिको बाटो, समाजवादी राज्यको चरित्र, क्रान्तिका मित्र र शत्रु, क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिलाई हेर्ने विश्व दृष्टिकोण, २००७, २०४६, २०६२/६३ का क्रान्ति र तिनलाई हेर्ने दृष्टिकोण, आजको संविधानलाई हेर्ने दृष्टिकोण लगायतमा उहाँका बीचमा एकरुपता छ ? यसो हेर्दा भविष्य छोटो भएकाहरुको एडल्ट क्लब जस्तो । जहाँ ईतिहासको बखान हुन्छ तर भविष्यको कुनै सपना हुँदैन । हेर्दै जाऊँ ?’
सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । उनीहरुले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन् ।
मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ । शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् । मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया