वैदिक नारीवाद



डा. गोविन्दशरण उपाध्याय ।
शाक्त दर्शन वैदिक चिन्तनहरू मध्ये प्राचीनतम जीवन दर्शन हो । शाक्त दर्शनको स्रोत तथा केन्द्र भगवती पार्वती हुन् । नेपालका प्राचीन प्रचलित आराधना पद्धतिहरूमा शाक्त, स्मार्त, शैव र वैष्णव आज पनि नेपाली सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा जीवन्त रूपमा उपस्थित छन् ।

१८ रौँ शताब्दिको अन्त्यतिरबाट नारीवादी चिन्तनको आरम्भ मानिन्छ । आजको समयमा जे–जस्तो अवस्थामा नारीवाद रहे पनि आरम्भ विन्दूमा नारीवादीको प्रमुख लक्ष महिलालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक समानता दिलाउने नै थियो । सन् १९६० पछि नारीवादले स्वतन्त्रता र स्वच्छन्दताको बाटो अबलम्बन गर्न थालेको हो । आजको नारीवादी चिन्तनमा नारीसर्वसत्तावाद देखि लिएर पुरुष र नारीबीच समन्वयका आधारमा मानव समाजलाई उन्नत बनाउने पक्षधरहरू छन् ।

नारीवादको सन्दर्भ आउँदासाथ अधिकारवादी र पुरुषप्रति वितृष्णावादी दृष्टिकोण उपस्थित हुन्छ । अर्कोतिर नारीवादी चिन्तन पूर्णतया पश्चिमा प्रतिमान हो भन्ने अत्यन्त भ्रमपूर्ण सूचना प्राप्त हुन्छ । हो, घृणावादमा आधारित नारीवादी चिन्तनधाराको विकास र विस्तार पश्चिमाहरूको खासगरी मार्क्सवादी र समाजवादीहरू देन हो तर नारीवाद पश्चिमाहरूको निर्विकल्प खोज होइन ।

मैले शाक्त दर्शनको कुरा त्यसै उठाएको होइन । प्राचीन वैदिक विचारधाराहरू मध्ये ‘नारी’लाई केन्द्र बनाएरको दार्शनिक चिन्तन शाक्त दर्शन हो । यहाँ शक्तिको प्रतिमान नारीसंग जोडिएको छ । व्याख्या र विश्लेषण गर्दा “शक्ति नारी होइन, उर्जा हो’ भन्ने शास्त्रीय जामा पहिराए पनि “शक्ति र नारी यी दूवै एकै हुन् । उदाहरणका लागि सप्तशतीमा देवी स्वयंले ‘एकैवाहं जगत् यत्र द्वितीया का ममापरा’ अर्थात् यो विश्व ब्रह्माण्डमा म वाहेक अरू के नै छ र ?’ भन्दै भगवती महामायाले मनुष्य जगतमा नारीवादको पहिलो संदेश प्रवाह गरेकी छन् ।
दार्शनिक दृष्टिकोणले विचार गर्दा शाक्त जीवन दर्शन प्राचीन वैदिक नारीवादको जीवन्त उदाहरण हो । ‘तिमी मेधा हौँ र तिमी नै सम्पूर्ण शास्त्रहरूको सारतत्व हौँ र चित्तका रूपमा तिमी विश्वभरीका नारी तथा पुरुषमा व्याप्त छौँ भन्दै नारीवादको प्रभुत्वलाई स्वीकार गरिएको छ । ऋग्वेदमा देवी सूक्त, रात्रिसूक्त, सरस्वती सूक्त प्रसिद्द छन् । यस वाहेक तन्त्र–साहित्य र शाक्त साहित्यमा नारी शक्तिलाई विभिन्न प्रतिमानका रूपमा स्वीकार गर्दै र गर्न आह्वान गर्दै प्रार्थनाहरू, कथाहरू, उपासना पद्धतिहरू निर्माण भएका छन् ।

शाक्त दार्शनिक चिन्तनको केन्द्र नारी शक्ति हुन् । महानिर्वाणतन्त्रमा ‘महाकाल पनि जसको शक्तिबाट प्रचलित हुन्छन्, ती महाकाली नै परम शक्ति हुन्; भन्दै नारीशक्तिलाई सर्वोच्च शक्तिका रूपमा स्वीकार गरिएको छ । यसैगरी आचार्य शङ्करले सौन्दर्यलहरीमा ‘हे शक्ति, तपाईं शिवमा शक्तिका रूपमा स्थित हुनाले शिवमा संहार गर्ने सामर्थ्य आएको हो’ भन्दै नारीशक्तिको सर्बोच्चता स्वीकार गरेका छन् । ब्राह्मणहरूले नारीहरुलाई हेपे, अपमान गरे, दोश्रो दर्जाको बनाए भनेर आरोप लगाउनेहरूका लागि आचार्य शङ्करको यो भनाई दह्रो झापड हो ।

ब्रहमपुत्री गायत्री वा सावित्रीको स्थान वैदिक संस्कृतिका प्रत्येक विनित अनुयायीहरूका लागि ‘मन्त्र’का रूपमा स्थापित छ । मन्त्रको अर्थ मनलाई अनेकौं डर (आध्यात्मिक, आधिदैविक र भौतिक) मुक्ति दिने शक्ति हो । गुरुले गोप्य रूपमा शिष्यको कानमा प्रदान गर्ने मन्त्र ‘गायत्री’ नारीशक्ति हुन् र गुरूले मन्त्ररूपमा गायत्री दिंदै नारीशक्तिको दैनिक जीवनमा कतिविध्न महत्व छ भन्ने प्रष्ट पारेका छन् ।
मन्त्रद्रष्टा ऋषिकाहरूको ज्ञानले वैदिक संस्कृतिमा महिला र पुरुष दूवैका लागि शिक्षादीक्षाका ढोका खुला थिए भन्ने प्रमाणित गर्छ । वेदमा अपाला, घोषा, गार्गीआदि ऋषिकाको उपस्थिति र तिनको प्रज्ञा बुझ्ने र जान्नेहरूका लागि वैदिक संस्कृति पूर्णतया नारीमैत्री थियो भन्ने तत्थ्यलाई सहजरूपमा स्वीकार गर्छन् तर नारीवादका नाममा केवल नकारात्मक कथा र प्रसंग मात्र कोट्याएर तत्थ्य विगार्ने र त्यसका आधारमा ‘नारीवादी’ कहलिने मनसाय लिएकाको कुनै औषधि छैन । साथै, वर्तमान हिन्दू संस्कृतिमा नारीप्रति विभेद छैन भन्ने धृष्टतापूर्ण समर्थन मेरो छैन तर समकालीन विश्वका अन्य समुदायमा नारीहरूको स्थान र नारीवादको तुलना गर्दा बैदिक संस्कृतिले ‘शाक्त दर्शन’का रूपमा नारीको सर्वोच्चतालाई सैद्धान्तिक र व्याबहारिक रूपमा स्वीकार गरेको छ भन्ने तत्थ्यमा शंका रहन्न ।

नेपाली नारीवादीहरूले नारीवादका विषयमा लेख्दा शाक्त दर्शनको उल्लेखसम्म गर्न सकेका छैनन् । विश्वविद्यालयमा गुरु तथा गुरूआमाहरूले पश्चिमा नारीवादको गुणगान र वैदिक सामाजिक व्यबस्थामा नारीलाई कुनै सम्मान छैन भन्दै ठाडो निर्णय दिने पूर्वाग्रह बाहेक केही भेटिन्न । कार्लमार्क्स जन्मनु भन्दा हजारौं वर्षपहिला गार्गीले याग्यबल्क्यसंग ठाडो प्रश्न गरेकी थिइन् भने ऋग्वेदमा अपालाले विवाहपछि परिवारमा, सम्पत्तिमा समान अधिकार दिएमात्र दाम्पत्य जीवनमा प्रवेश गर्ने बचन लिएर मात्र विवाह गरेकी थिइन् । सीता होउन वा दमयन्ती वा द्रोपदी – यी सबैले नारीअधिकारको प्रयोग गरेर विवाह गरेका थिए । यस्ता हजारौं प्रसंग वेद, ब्राह्मण, उपनिषद, पुराण तथा तन्त्रग्रंथहरूमा राइछाई छन् । ‘हिन्दू धर्मले नारीलाई कुनै अधिकार दिएको छैन’ भन्ने स्वचालित पूर्वाग्रह बोकेका गुरूवा र गुरूआमासंग अपाला, घोषा, गार्गी वा कुन्तिको प्राचीन इतिहास पढ्ने र महिलाप्रतिको सकारात्मक इतिहास आफ्नो लेखमा उल्लेख गर्ने गरिमा छैन ।

पश्चिमका महिलाहरूले आरम्भ गरेको अधिकारवादी नारीवादी आन्दोलनका कारण विश्वका धेरै महिलाहरूले ‘समानता’को अधिकार प्राप्त गर्ने दिशातिर सफलता प्राप्त गरेका छन् । नेपाली नारीहरूले पनि त्यसबाट सहयोग प्राप्त गरेका छन् । नारीवादी आन्दोलनले स्थापित गर्न खोजेको सकारात्मक पाटोको सम्मान गरिनुपर्छ तर आफ्नो संस्कृतिमा दुर्गुणमात्र देख्ने र अर्काको विष्टामा पनि सुगन्ध देख्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ । यदि हिन्दू संस्कृति पूर्णतया नारीविरोधी भएको भए महिलाहरू देवीका रूपमा पुजिने थिएनन्, धर्मगुरुका रूपमा उच्चतहको सम्मान प्राप्त गर्ने थिएनन्, ‘नारीनै घर हुन्’ भन्ने उच्च मान्यता र भनाई सामाजिक तथा सांस्कृतिक चलनमा हुने थिएन ।
शाक्तदर्शन अर्थात् वैदिक नारीवादी दर्शनका पनि तीन आयाम छन्ः अद्वैतवादी शाक्तवाद, द्वेताद्वेतवादी शाक्तवाद र द्वैतवादी शाक्तवाद । केही शाक्त आचार्यहरूले अद्वैतवादीहरूले झैं ‘शाक्त सर्वसत्तावाद’को प्रतिपादन गर्दै अन्यलाई निषेध गरेका छन् र अनन्यतालाई स्वीकार गरेका छन् । दोश्रोमा शक्तिलाई एक र अनेक दूवै रूपमा स्वीकार गरिएको छ जसलाई ‘डेमोक्रेटिक शाक्त्यवाद’ भन्न मिल्छ भने तेस्रो द्वेतवादी शाक्त चिन्तनमा स्त्री र पुरुषसरह समन्वयमा विश्वको सृष्टि, पालन र संहार गरेको तत्थ्य उल्लेख छ । उदाहरणका लागि सांख्यदर्शनमा पुरुष र प्रकृतिले समन्वय गरेर विश्वको व्यबस्था मिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय