योगेशलाई माओवादी नेताको प्रश्नः प्रतिवेदनमा आफैंले हस्ताक्षर गर्दा के होलीवाइनको नशामा बेहोस् हुनुहुन्थ्यो ?


 

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारको नीति तथा कार्यक्रमको एक नम्बर बुँदामा ‘जनयुद्ध’ शब्द राखेकोमा आपत्ति जनाएपछि यतिबेला एमाले र माओवादीका नेताहरुबीच सामाजिक संजालमा जुहारी चलेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले ‘जनयुद्ध’ शब्द यसपटक प्रधानमन्त्रीले राष्ट्रपतिको मुखबाट वाचन गराउन लगाएको बताएपछि दुई पार्टीका नेताबीच जुहारी चलेको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल सुदीपले एमाले सचिव भट्टराईको भनाईप्रति आपत्ति जनाएका छन् ।

यस्ता छन् योगेशलाई मल्लका प्रश्न

इतिहास तिर फर्केर गौरवपूर्ण जनयुद्ध माथि प्रश्न गर्नेले कान खोलेर सुन !
१– नेकपाको विधान र प्रतिवेदनमा आफैंले हस्ताक्षर गर्दा के होलीवाइनको नशामा बेहोस् हुनुहुन्थ्यो ?

२– २०७६ सालमा पार्टी कार्यालयमा गरिएको जनयुद्ध दिवसको सन्दर्भमा तपाईंले बोलेका कुरा केवल झूठका पुलिन्दा थिए ?

३–हेक्का रहोस् नेपाली राजनैतिक इतिहासको कर्वट बदल्ने महान् जनयुद्ध सर्वस्वीकार्य ऐतिहासिक कोशेढुंगा हो । जनयुद्धरुपि यो विशाल पहाडसँग ठोक्किने जुनसुकै शक्ति वा व्यक्तिको इतिहास आंशिक वा पूर्णरुपमा धरासायी भएको छ।

४– राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सेना र प्रहरीले तिम्रा पिँडुला रंगिनेगरि लाठीचार्ज गरेको र सयौं कार्यकर्ता प्रहरी हिरासतमा पुग्दा के हविगत भएको थियो, सम्झिने प्रयास गरेका छौं ?

५– स्कुल पढ्दै गरेको ११ वर्षीय दिलबहादुर रम्तेललाई स्कुलमै गोली हानेर हत्याको शुरुवात के राज्यले गरेको थिएन ? खाराको बस्ती जलाउने बाँके र बर्दियामा सयौं निहत्था नेता र कार्यकर्ताहरुलाई हत्या र बलात्कार गर्दै बेपत्ता पार्ने काम को सुरुवात राज्यले गरेको होइन ? कालिकोटको विमानस्थलमा काम गर्न गएका ३० जना मजदुरहरुलाई लाइन लगाएर गोली हानेको तिम्रै सत्ताले होइन ? बाबु जनसेनाको कमाण्डर भएको कारण उसको ६ महिनाको छोरालाई कोटबाडामा मारेको तिमिले सुनेनौ ? सास्कृतिक कार्यक्रम सकेर हिड्दै गरेकी मेरो जीवनसंगिनी भूमिसरा ओली र गंगा घर्ती लाई एकघण्टा हिंडाएर सैनिक क्याम्पमा २०५९ जेठमा पुर्याएको देख्ने तिम्रा दर्जनौं कार्यकर्तालाई सोध रातभर के गरियो र भोलिपल्ट दोहोरो भिडन्तमा मारिएको प्रचार गरियो यो कुरा बुझ्दैनौ ? तत्कालीन अवस्थामा तिम्रो पार्टीसमेत सहभागी संयुक्त वामपन्थी आन्दोलन र त्यसले निर्माण गरेको समितिले निकालेको छानबिन प्रतिवेदन जसमा राज्यले कानुन र मानवअधिकारको उल्लंघन गर्दै सुर्खेतमा गणेश न्यौपाने र डिला थापालाई गरेको गैरन्यायिक हत्याको तिमीले कसरी व्यख्या गर्छौं ?