नागरिक उन्मुक्ति पार्टीले भन्यो-राजबन्दी हत्यारा हुन् भने ऐन बनाएर रेशमलाई फाँसी दिनु


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरी टीकापुर घटना राजनीतिक हिसाबले समाधान गर्न माग गरेका हुन् ।

टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै सार्वजनिक नगरिएको भन्दै प्रतिवेदन सार्वजनिक गर्न उनले माग गरेका छन् । उनले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सीके राउत होस् वा विप्लव सबै राजनीतिक घटना मानेर सबैलाई मूलधारको राजनीतिमा ल्याएको छ । टीकापुरमा घटेको घटना किन राजनीतिक बनेन, अहिलेको सरकारले किन बनाउन चाहेन हाम्रो (नाउपाको) चिन्ताको विषय यहाँ हो । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक हिसाबले हल गर्न अनुरोध गर्छौं ।’

मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको थियो ।