हिन्दू हुनु गौरव हो !
डा. गोविन्दशरण उपाध्याय ।
कम्युनिष्ट, कंग्रेस र समाजवादीहरूले हिन्दू धर्म, संस्कृति तथा सभ्यतासंग हदैसम्मको घृणा किन गर्छन् भन्ने प्रश्न अनुचित हुँदैन । नेपाल होस् वा भारत, यी दूवै देशका उपरोक्त केटेगरीका नेताहरूको इसाई, मुस्लिम र पहिचानका नाममा आफ्नै छिमेकीको घर भाड्नेहरू विरुद्ध प्रेम जगजाहेर छ यस्तो विखण्डनवादी प्रेमलाई उनीहरूले ‘प्रगतिशीलता, आधुनिकता तथा उदारता’को शब्दजालमा पस्कने गर्छन् ।
नेपालमा पनि कम्युनिस्ट, कंग्रेस र समाजवादीहरूको घृणावादीहरूप्रतिको प्रेम लुकेको छैन । जसजसले हिन्दूहरूका विरुद्ध घृणा ओकेल्छ, त्यस समुदायसँग यी पार्टीहरूको भातृत्वको सम्बन्ध स्थापित हुन्छ । इसाई वा मुस्लिमहरूप्रति घृणा गर्नु पर्ने आवश्यकता छैन तर हिन्दू– धर्म र संस्कृतिको उछितो काडेर ‘प्रगतिशील वा आधुनिक’ बन्नेहरूले ‘के हिन्दूहरू पहिचान विहिन हुनु पर्ने र अन्य सबैको पहिचान हुने हुने पर्छ’ भन्नुपछि के तर्क छ ?
अब्राहमिक धारमा जन्मेका पश्चिमा राजनैतिक चिन्तन पनि किमर्थ यहुदीले इसाईलाई, इसाईले मुस्लिमलाई, मुस्लिमले यहुदी र इसाईलाई, इसाईभित्रकै एउटा पन्थले अर्को पन्थलाई, मुस्लिमभित्र नै एउटा पन्थले अर्को विरुद्ध खैरो खन्ने प्रवृत्ति राजनीतिमा पनि सरेकै छ । यही जन्मजात प्रवृत्तिका कारण नेपाली राजनीतिज्ञले विदेशी राजनीतिका प्रतिमान अँगालेसंगै त्यहींका धार्मिक समुदायहरू प्रिय भएका हुन् र नेपालका मौलिक संस्कृतिहरू हिन्दू, जैन, बौद्ध, किराती, बोनआदि शत्रुसरह भएका हुन् ।
यतिमात्र होइन, विदेशी प्रतिमानको राजनैतिक चिन्तनको मनोविज्ञानका कारण बौद्धलाई हिन्दूसंग, हिन्दूलाई बौद्धसंग, जैनलाई हिन्दूसंग, किरातीलाई हिन्दूसँग भिडाएर एकआपसमा घृणालाई मलजल गर्ने प्रवृति पनि त्यहीबाट आएको हो । अब्राहमिक रगतमा घृणावाद फल्छ र त्यही लाइनबाट बगेको राजनीति घृणा मुक्त होला भनेर सोच्नु मूर्खतापूर्ण हुन्छ । विश्वका अधिकांश मुलुकहरू अब्राहमिक राजनीतिको नक्कल गरेर आफ्नो देश, जनता र संस्कृतिलाई ध्वस्त परिरहेका छन् ।
नेपालमा पनि तथाकथित प्रगतिवाद र आधुनिकताको मुखे संस्कृति ‘भुटानी’ मानव बेचविखनमा पुगेर प्रगतिको शिखर चुमेको छ । अब्राहमवादी मोटाएका छन् किनभने आजको नेपाली राजनीतिमा अब्राहमका सन्तानहरूको बोलबाला छ । ऋषि परम्परामा विकसित भएको गौरवशाली हिन्दू–मनमा हीनताबोधको मनोविज्ञान स्थापित गरेको अब्राहमिक राजनीति तथा चिन्तन परम्परा विरुद्ध हिन्दूहरूले विद्रोह गर्नु बाहेक अन्य विकल्प संबिधानले छोडेको छैन ।
पुर्खाले सन्तानलाई र सन्तानले पुर्खाको जरोकिलो मेट्ने मनोबैज्ञानिक पथ अब्राहमिक बाटोको आदर्श होला तर हिन्दू संस्कृतिमा विकसित भएर स्वायत्त भएका जैन, बौद्ध, किराती, सिखहरूप्रति हिन्दूहरूले सधैं मित्रताको भाव राखेका छन् र भविष्यमा पनि यही भाव रहिरहने छ । अब्राहमिक प्रभावमा परेर केही बौद्ध, जैनी, सिखहरू हिन्दूद्वेषी भएकोमा दुःख लाग्छ ।
अहिलेको सबैभन्दा महत्वपूर्ण सेवाकर्म हिन्दू समुदायलाई हीनताबोधको गहिरो खाडलबाट उद्धार गरेर आफ्नो प्राकृतिक अवस्थामा स्थापित गर्नुनै हुनेछ । गौरवशाली हिन्दू स्वको निर्माण गर्नका लागि घृणा र निषेधको बाटो अबलम्बन गर्न आवश्यक छैन। ‘बसुधैव कुटुम्बकम’को मौलिक वैदिक मूल्य स्थापित गर्न हिन्दू स्वत्वको बाटो अबलम्बन गरे पुग्छ । आफुलाई ऋषिकुलको गौरवशाली वाहकका रूपमा स्वीकार गरे पुग्छ । हिन्दू हुनु गौरवको कुरा हो, त्यसमा पनि नेपाली हिन्दू हुनु आफ्नो लागि र विश्वको लागि झन् बढी गौरवको कुरा हो ।